कोटीहोममा राष्ट्रव्यापी वक्तृत्वकला,तनहुँका विशाल भण्डारी प्रथम

रुपन्देही खबर , २७५  पटक हेरिएको

पोखरा,जेठ १५

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै ५१ हजार एक सय ५१ रुपैयाँ नगद पुरस्कार जितेका छन् । उनले प्रतियोगितामा दुई सय २६ अंक प्राप्त गरेका छ्न ।

यस्तै पर्वत मोदीस्थित पशुपति आवासीय माविका सुवास पौडेल द्वितीय हुँदै ४१ हजार एक सय ४१, पोखरास्थित सैनिक आवासीय विद्यालयका समीर कार्की तृतीय हुँदै ३१ हजार एक सय ३१ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । पौडेलले दुई सय २५ र कार्कीले दुई सय १२ अंक प्राप्त गरेका थिए ।

यसैगरी कुश्मा पर्वतस्थित नमूना आवासीय माविकी सजता गिरी, स्याङ्जाको पुतलीबजारस्थित काजीमान हरिटीका माविकी रीत्तिका केसी, लमजुङको मध्यनेपालस्थित कुशुमाकर माविका सचित घिमिरेले सान्त्वना स्थान हासिल गर्दै २१ हजार एक सय २१ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

साथै बाँकेको कोहलपुरस्थित जनता आदर्श माविकी भावना सिंह ठकुरी, जुम्लाको कनकासुन्दरी माविकी अस्मिता विश्वकर्मा, नवलपरासी सुनवलस्थित जगन्नाथ माविकी प्रशंसा महतो, स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ माविकी अमृता गुरुङले प्रतियोगितामा सहभागिता जनाएर जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

आइतबारदेखि शुरु भएको प्रतियोगितामा ९० जनाले प्रतिस्पर्धा गरेका थिए । सहभागीले ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा आआफ्नो तर्क प्रस्तुत गरेका थिए । कोटीहोम हेर्न र वक्तृत्वकलामा सहभागीका तर्क सुन्न पोखरास्थित विभिन्न विद्यालयका विद्यार्थीसमेत सहभागी थिए ।

प्रतियोगिताको संयोजक तथा निर्णायकमा संस्कृतिविद् डा. तुलसी प्रभास, निर्णायकमा महाकाव्यकार माधव वियोगी र शिक्षाविद् भगवती न्यापाने रहनु भएको थियो ।

गत चैत १६ देखि शुरु भएको कोटीहोममा हालसम्म लाखौँ भक्तजन सहभागी भएका छन् । प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार कोटीहोममा देशभरबाट भक्तजन आएका छन् । उहाका अनुसार नेपालको कोटीहोमले अन्तर्राष्ट्रिय जगतकै ध्यान खिचेको छ । कोटीहोममा सहभागी हुन भारतबाट गाडी रिजर्भ गरेरै भक्तजन आएको ढकालले बताउनु भयो ।

कोटीहोममा बुधबार पनि अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको कथा वाचनमा लठ्ठिए । कोटीहोममा उहाको यो दोस्रो आगमन हो । भारतमा महत्वपूर्ण कार्यक्रम छोडेर उहा दोस्रो पटक कोटीहोममा सहभागी हुनु भएको हो। उहाले यसलाई ‘नेपालीको माया, पोखरेलीको माया’ भन्दै आउनु भएको छ ।

उहा यही जेठ १६ गते कोटीहोमबाट बिदा हुँदै हुनुहुन्छ भने त्यसलगत्तै भागवत मञ्जरी राधिका दासी आउदै हुनुहुन्छ । उहा आउने खबरले भक्तजन उत्साहित भएको संयोजक ढकालले जानकारी दिनु भएको छ ।

देशविदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । साथै अनुराधा पाण्डेद्वारा श्यामद् भागवत कथा प्रवचन, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायतले कोटीहोममा कथा वाचन गरिसकेका छन् । कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।

यस्तै, हरेक दिन चार सय बढी ब्राम्हणले भगवानको नाममा आहुति गर्ने गरेका छन् भने हवन कुण्डका लागि जौ, तिल, घीउलगायतका हवन सामग्री दान गर्ने, हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिनु भएको छ ।

पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भएको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: २०२५-०५-२९ , समय : ०८:१३:४९ , ८ महिना अगाडि