दृष्टिविहीन छात्राहरुलाई ल्यापटप वितरण

रुपन्देही खबर , १००  पटक हेरिएको

सैनामैना, साउन ४

अपांग समावेशी दृष्टिकोणबाट नेपालमा विद्यमान विपद जोखिम व्यवस्थापन सम्वन्धि नीतिगत तथा कानुनी दस्तावेजको बिश्लेषण प्रतिवेदन प्रमाणीकरण कार्यशाला गोष्ठी शनिवार सैनामैनामा सम्पन्न भएको छ ।

 

एविलिस फाउण्डेसनको सहयोग र नेपाल दृष्टिविहीन उत्थान संघ सैनामैनाको आयोजनामा भएको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैना नगरपालिका र स्वीस रेडक्रसको सहयोगमा सैनामैनामा विपद जोखिम न्यूनिकरणका लागि धेरै काम गर्दै आएको बताउनुभयो । उहाँले सैनामैना नगरपालिकाले अपांगता भएकाहरुको हक अधिकारको क्षेत्रमा विगतदेखि नै सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा नीतिगत तहमा समेत केही सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा धारणा राख्दै एबिलिस फाउण्डेसनका नेपाल प्रतिनिधि डाक्टर बिरेन्द्रराज पोखरेलले सरकारले प्रकोप व्यवस्थापन ऐन वनाएको बताउँदै बनाएको ऐनमा अपांगता भएकाहरुको अधिकारको कुरा कत्तिको सम्वोधन भयो भन्ने कुराको बिषयमा छलफल भैरहेको बताउनुभयो । उहाँले संघीय र स्थानीय पालिकाले ऐनको कार्ययोजना निर्माणको क्रममा सहयोग पुगोस भन्ने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

 

सोही कार्यक्रमकै अवसरमा अपांग सशक्तीकरण केन्द्र तथा संचार केन्द्र बाँके, राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशको समन्वय र सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा दुईजना दृष्टिविहीन छात्राहरुलाई ल्यापटप वितरण गरिएको छ ।

सन्धिखर्क नगरपालिका ७ घर भई रुपन्देहीको शान्ति नमूना माध्यमिक विद्यालय मणिग्राममा अध्ययन गर्ने एकै घरका करिश्मा ज्ञवाली र आयुशा ज्ञवालीलाई ल्यापटप प्रदान गरिएको छ ।

करिश्मा कक्षा ८ मा पढ्छिन भने आयुशा ६ कक्षामा अध्ययन गर्छिन । ल्यापटप पाएपछि खुसी प्रकट गर्दै करिश्मा ज्ञवालीले पढाईलाई अघि बढाउन सहयोग पुग्नुका साथै शिक्षकहरुले दिएको होमवर्क गर्न सजिलो हुने बताईन । उनले ल्यापटपकै सहायताले उच्च शिक्षा अध्ययनका लागि हौसला मिलेको प्रतिकृया दिईन ।

नेपाल दृष्टिविहीन उत्थान संघ सैनामैनाका अध्यक्ष मुक्तिनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यशालामा सैनामैना नगरपालिका उपप्रमुख बिना राना, सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम शर्मा, सैनामैना नगरपालिका १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, मित्रलाल शर्मा, लोकनाथ भुसाल, गोविन्द पोखरेलले कार्यशाला सफलताको शुभकामना दिनुभएको थियो । सोही अवसरमा शिक्षिका रञ्जिता रेग्मीले एआईको प्रविधिले दृष्टिविहीनहरुको क्षेत्रमा ल्याएको परिवर्तनको विषयमा जानकारी दिनुभएको थियो ।

राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीको संचालनमा भएको कार्यक्रमको संचालन नेपाल दृष्टिविहीन उत्थान संघ सैनामैनाका उपाध्यक्ष सुनिल सुवेदीले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२५-०७-२० , समय : ०९:२९:४२ , १० घन्टा अगाडि