रुपन्देही खबर , ४१५ पटक हेरिएको
बुटवल ,साउन ११
दारी ग्याङ रुपन्देही जिल्लाको तेस्रो जिल्ला अधिवेशन एक समारोहका साथ सम्पन्न गरेको छ। बुटवल उपमहानगरपालिका–३ स्थित भगवती दुर्गा मन्दिर प्रांगणमा आयोजित कार्यक्रममा नयाँ नेतृत्व चयनसहित संस्थागत योजना सार्वजनिक गरिएको थियो।
कार्यक्रममा सर्वसम्मत निर्णयबाट रमेश खनाललाई दारी ग्याङ रुपन्देहीको अध्यक्षमा निर्विरोध चयन गरिएको छ। निवर्तमान अध्यक्ष भरत पौडेलको नेतृत्वमा सम्पन्न अधिवेशनमा अध्यक्षसहित १३ जना कार्यसमिति सदस्यहरू चयन भएका छ्न ।
कार्यक्रमका प्रमुख अतिथि दारी ग्याङ लुम्बिनी प्रदेश संयोजक तथा केन्द्रीय सदस्य असल सुवेदीले संस्थाका नामदाता स्वर्गीय सत्यमोहन जोशीको मार्ग अनुसरण गर्दै सामाजिक सेवामा अझ सशक्त रूपमा लाग्नुपर्नेमा जोड दिनुभयो। विशिष्ट अतिथि लुम्बिनी प्रदेश सह–संयोजक माधव भण्डारी (टार्जन) ले देशका ५६ जिल्लामा सक्रिय दारी ग्याङले युवा सशक्तिकरण र सामाजिक पुनरुत्थानमा उल्लेखनीय कार्य गरिरहेको धारणा व्यक्त गर्नुभएको छ । नेपाल नियमित रक्तदाता संघ रूपन्देहीका अध्यक्ष अशेष शिलवालले रक्तदान अभियानमा दारी ग्याङको सक्रियता उल्लेख गर्दै आगामी दिनहरूमा समेत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सो अवसरमा दारी ग्याङका सल्लाहकार कृष्ण चौहानले संस्थाको सत्कर्मको बाटो पछ्याउन सबै सदस्यहरूलाई आग्रह गर्नुभयो। लेखक झलक विश्वकर्माले आफ्नो पुस्तकबारे संक्षिप्त प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा संस्थाका केन्द्रीय संस्थापक अध्यक्ष प्रदीप गैरे ‘बर्बरिक’, आईटी संयोजक मधु पन्थ, स्वास्थ्य संयोजक सन्तोष खरेल, कानुनी सल्लाहकार कृष्ण डुम्रे, सल्लाहकार कपिल अर्याल, तिलोत्तमा प्रतिनिधि जीवन विश्वकर्मा, बुटवल प्रतिनिधि सन्तोष न्यौपानेलगायत ६८ जनाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम दुई चरणमा खुला सत्र र बन्द सत्र मार्फत सम्पन्न भएको थियो। बन्द सत्रमा निवर्तमान अध्यक्ष भरत पौडेलले आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गर्दै नवगठित कार्यसमितिलाई बधाई दिनुका साथै स्वयं नेतृत्वमा नभए पनि संस्थालाई मार्गनिर्देशन गर्दै अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अधिवेशनमा उत्कृष्ट योगदान गर्ने दारी सर्जकहरूलाई प्रमाणपत्र र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रमको स्वागत मन्तव्य सदस्य लेलिन भुर्तेलले दिनुभएको थियो भने सञ्चालन प्रवक्ता प्रदीप कोइरालाले गर्नुभएको थियो।
प्रकाशित मिति: २०२५-०७-२७ , समय : १८:३५:०६ , ९ महिना अगाडि