संसद् विघटनसँगै राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका ३० वटा विधेयक निष्क्रिय

रुपन्देही खबर , ९०  पटक हेरिएको

काठमाण्डाै,भदौ ३१

संसद् विघटनसँगै राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका ३० वटा विधेयक निष्क्रिय भएका छन् । गएको शुक्रवार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गर्नुभएको थियो । प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभामा उत्पत्ति भएका तथा राष्ट्रियसभामा उत्पत्ति भएर प्रतिनिधिसभामा विचाराधीन विधेयकहरू संवैधानिक व्यवस्था अनुसार स्वतः निष्क्रिय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो ।

उहाँका अनुसार सङ्घीय संसद्का दुवै सदनमा विचाराधीन ३० वटा विधेयक निष्क्रिय भएका हुन् । यसरी निष्क्रिय हुने विधेयकहरूमा २७ वटा सरकारी तथा ३ वटा गैरसरकारी रहेका छन् । मध्यावधिमार्फत आउने संसद्ले निष्क्रिय विधेयकका आधारमा नयाँ विधेयक अगाडि बढाउनुपर्ने र त्यसका लागि सम्बन्धित मन्त्रालयले प्रस्ताव गर्नुपर्ने प्रवक्ता गिरीको भनाइ छ ।

सङ्घीय संसद्का दुवै सभा नभएको अवस्थामा आवश्यकता अनुसार सरकारले अध्यादेश ल्याउन सक्ने संवैधानिक व्यवस्था रहेको छ । प्रवक्ता गिरीले प्रतिनिधिसभा विघटन भएको तथा राष्ट्रियसभाको अधिवेशनसमेत अन्त्य नभएको अवस्थामा तत्काल अध्यादेश ल्याउन नसकिने बताउनुभयो । यद्यपि राष्ट्रियसभाको अधिवेशन अन्त्य भइसकेपछि सरकारले आवश्यकता महसूस गरेमा अध्यादेश जारी गर्न संविधानले नरोक्ने उहाँको भनाइ छ । गिरीले सङ्घीय संसद् भवन आगजनी र तोडफोडबाट जीर्ण भएको अवस्थामा तत्काल राष्ट्रियसभाको बैठक बोलाउनेबारे केही तयारी नभएको समेत बताउनुभयो ।

‘जेन–जी’ को भदाै २३ र २४ गतेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको हो । लगत्तै सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि सङ्घीय संसद्को प्रतिनिधिसभा विघटन गर्ने निर्णय गर्नुभएको थियो । यसैबीच राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहालले प्रधानमन्त्री निवास बालुवाटार पुगेर कार्कीसँग भेटवार्ता गर्नुभएको हो । भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमसहित राष्ट्रियसभाले अब खेल्न सक्ने भूमिकाको विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: २०२५-०९-१६ , समय : २१:०८:२१ , ४ घन्टा अगाडि