रुपन्देही खबर , ५३ पटक हेरिएको
भैरहवा, असार ३१
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नक्कली नेपाली नोट उत्पादन गरी बजारमा चलाउने संगठित गिरोहलाई प्रहरीले विशेष अभियानमार्फत पर्दाफास गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले सञ्चालन गरेको ‘अपरेसन चार्ली (Operation Charlie)’ अन्तर्गत ६ जनालाई पक्राउ गर्दै नक्कली नोट उत्पादन गर्ने उपकरणसहित ठूलो परिमाणमा नक्कली नेपाली मुद्रा बरामद गरेको हो।

प्रहरीका अनुसार असार २६ गते बुटवलकी गंगा कुमारी पुर्वछानेले एक महिलालाई क्यूआर (QR) मार्फत दुई हजार एक सय रुपैयाँ पठाउन लगाएर सट्टामा एक हजार रुपैयाँ दरका दुई थान र एक सय रुपैयाँको एक थान नोट दिएकी थिइन्। पछि ती नोट लिएर किनमेल गर्न जाँदा दुवै हजारका नोटको सिरियल नम्बर एउटै ‘ञ.६६३४११’ रहेको र ती नक्कली भएको खुलेपछि पीडितले असार २८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन्।
उक्त उजुरीपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले ‘अपरेसन चार्ली’ सञ्चालन गरी अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा बुटवल उपमहानगरपालिका–११, श्रृजनानगर निवासी ३६ वर्षीया गंगा कुमारी पुर्वछाने पक्राउ परिन्। उनको घरमा गरिएको खानतलासीका क्रममा एक हजार रुपैयाँ दरका १०३ थान नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ।
अनुसन्धानलाई थप विस्तार गर्दा घटनामा कास्कीको पोखरा महानगरपालिका–१ निवासी कृष्ण भन्ने किरण कृष्ण तिवारीको संलग्नता खुलेको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा उनलाई पक्राउ गरी खानतलासी गर्दा एक हजार रुपैयाँ दरका ४७८ थान नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ।
यसै क्रममा अनुसन्धानले भक्तपुरको चाँगुनारायण नगरपालिका–१ निवासी रामचन्द्र खत्री पनि गिरोहको मुख्य सदस्य रहेको पुष्टि गरेको थियो। उनलाई पक्राउ गरी सोधपुछ गर्दा बुटवल उपमहानगरपालिका–१३, जितगढीस्थित वालकुमारी घर्ती मगरको दुई वटा कोठा भाडामा लिएर नक्कली नोट छाप्ने कार्य सञ्चालन भइरहेको खुलासा भएको प्रहरीले जनाएको छ।
उक्त सूचनाका आधारमा असार २९ गते प्रहरीले सो स्थानमा छापा मार्दा नक्कली नोट उत्पादन गर्ने उपकरणसहित ठूलो परिमाणमा सामग्री बरामद गरेको छ। बरामद सामग्रीमा फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, नोट काट्ने मेसिन, नक्कली नोट छाप्ने प्रिन्टर, विशेष कागजको एक कार्टुन, लेमिनेसन मेसिन, नक्कली नोट बनाउन प्रयोग हुने रासायनिक पदार्थ (केमिकल), प्लास्टिक पेपर तथा एक हजार रुपैयाँ दरका तयार अवस्थामा रहेका ६२२ थान नक्कली नेपाली नोट रहेका छन्। साथै घटनासँग सम्बन्धित ६ थान मोबाइल फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ निवासी संजय थारु, दोलखाको सैलुङ गाउँपालिका–४ निवासी पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल, सिलिगुढी भक्तिनगर थाना निवासी बासुमित्र आनन्दलाई पनि पक्राउ गरेको छ। यससँगै पक्राउ पर्नेको संख्या ६ पुगेको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबै प्रतिवादीविरुद्ध मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ। रुपन्देही जिल्ला अदालतबाट असार ३० गते पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानले गिरोहले अत्याधुनिक उपकरण प्रयोग गरी सक्कली नेपाली नोटजस्तै देखिने नक्कली नोट उत्पादन गर्दै विभिन्न माध्यमबाट बजारमा चलाउने गरेको संकेत गरेको छ। यस गिरोहको सञ्जाल रुपन्देही, कास्की, भक्तपुर, कपिलवस्तु, दोलखा हुँदै भारतसम्म फैलिएको देखिएकाले यसको आर्थिक तथा आपराधिक नेटवर्कबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीले सर्वसाधारणलाई कारोबार गर्दा नोटको सिरियल नम्बर, सुरक्षा चिन्ह र गुणस्तर ध्यानपूर्वक परीक्षण गर्न तथा शंकास्पद नोट वा गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। साथै घटनामा अन्य व्यक्तिको संलग्नता, नक्कली नोटको वितरण सञ्जाल र वित्तीय कारोबारका पक्षबारे अनुसन्धान जारी रहेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०७-१५ , समय : २१:४२:१८ , ३ घन्टा अगाडि