रक्षा बन्धनमा भैरहवामा महिलाका लागि निःशुल्क ई–रिक्सा सेवा

रुपन्देही खबर , ४५  पटक हेरिएको

भैरहवा, भदौ १२

रक्षा बन्धन अर्थात् जनैपूर्णिमाको अवसरमा रुपन्देहीको भैरहवामा महिलाका लागि निःशुल्क ई–रिक्सा सेवा सञ्चालन गरिएको छ। दिदीबहिनी तथा आमाहरूलाई पर्वका दिन दाजुभाइ तथा आफन्तकहाँ पुग्न सहज होस् भन्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र पाँचवटा ई–रिक्सा निःशुल्क सञ्चालन गरिएको हो।

युवा समाजसेवी सिद्धार्थनगर–४ का संरक्षक गोविन्द यादव र अध्यक्ष रोशन थापाको पहलमा शुक्रबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म ई–रिक्सा सेवा सञ्चालन गरिएको आयोजकले जनाएको छ। सेवा लिन चाहने महिलाले आयोजकसँग सम्पर्क गरी ई–रिक्साको सुविधा लिन सक्ने व्यवस्था गरिएको थियो।

अभियानका योजनाकार समेत रहनु भएको गोविन्द यादवले आर्थिक अवस्था कमजोर भएका तथा आफ्नै सवारीसाधन नभएका दिदीबहिनीले पनि सहज रूपमा रक्षा बन्धन मनाउन सकून् भन्ने उद्देश्यले निःशुल्क सेवा सुरु गरिएको बताउनुभयो।

“पैसा छैन वा आफ्नै साधन छैन भन्दैमा कसैले रक्षा बन्धनको अवसरमा दाजुभाइलाई भेट्नबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो,” यादवले भन्नुभयो। उहाँले यस वर्ष पाँचवटा ई–रिक्साबाट सेवा सुरु गरिएको र आगामी वर्ष संख्या बढाएर १० वटा पुर्‍याउने योजना रहेको जानकारी दिनुभयो।

यस्तै गरी युवा समाजसेवी सिद्धार्थनगर–४ का अध्यक्ष रोशन थापाले रक्षा बन्धनको विशेष अवसरमा दिदीबहिनीलाई लक्षित गरी निःशुल्क यातायात सेवा उपलब्ध गराउने प्रयास गरिएको बताउनुभयो। उहाँले विशेषगरी स्थानीय महिलाले सेवाबाट लाभ लिने विश्वास व्यक्त गर्दै सामाजिक सेवाका यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।

यस्तै गरी निःशुल्क ई–रिक्सा सेवा लिने निशा श्रेष्ठले रक्षा बन्धनका दिन दाजुभाइलाई राखी बाँध्न जाने तयारी गरिरहेका बेला निःशुल्क सवारी सुविधा पाउँदा सहज भएको बताउनुभयो। उहाँले भैरहवामा महिलालाई लक्षित गरी पहिलोपटक यस्तो सुविधा पाएको भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभयो।

यस्तै गरी सिद्धार्थनगरकी खुसी प्रजापतिले सामाजिक सञ्जालमार्फत निःशुल्क ई–रिक्सा सेवाबारे जानकारी पाएपछि सम्पर्क गरेर सेवा लिएको बताउनुभयो। उहाँले पर्वका अवसरमा यातायात खर्च नलाग्ने भएपछि आफूलाई सहज भएको बताउँदै अभियान सकारात्मक रहेको उल्लेख गर्नुभयो।

यस्तै गरी युवा समाजसेवीका सदस्य तथा ई–रिक्सा चालक सञ्जय दुबेले सामाजिक सेवामा सहभागी हुन पाएकोमा आयोजकलाई धन्यवाद दिनुभयो। उहाँले ई–रिक्सा सञ्चालनमार्फत सेवा गर्ने अवसरसँगै आफूलाई रोजगारीसमेत प्राप्त भएको बताउनुभयो। पछिल्लो समय ई–रिक्सा सञ्चालनबाट हुने आम्दानी घटिरहेको अवस्थामा अभियानले आफूजस्ता चालकलाई पनि केही आर्थिक राहत पुगेको उहाँको भनाइ छ।

सिद्धार्थनगर–३ की स्थानीय सरस्वती कोहारले महिलाका लागि रक्षा बन्धनको अवसरमा निःशुल्क ई–रिक्सा सञ्चालन गर्नु सकारात्मक काम भएको बताउनुभयो। उहाँले समुदायको आवश्यकता बुझेर सामाजिक सेवामा सक्रिय युवालाई यस्ता अभियानलाई थप विस्तार गर्न आग्रह गर्नुभयो।

सिद्धार्थनगर–४ का स्थानीय अब्दुल्लाह समानीले पर्वका अवसरमा महिलाको आवतजावत सहज बनाउन निःशुल्क ई–रिक्सा सञ्चालन गर्नु समुदायका लागि उदाहरणीय काम भएको बताउनुभयो। उहाँका अनुसार आर्थिक रूपमा कमजोर परिवारका महिलाका लागि यातायात खर्चसमेत अतिरिक्त भार बन्न सक्ने भएकाले पर्वको अवसरमा उपलब्ध गराइएको निःशुल्क सेवा उपयोगी छ। उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समुदायका लागि युवाहरूले गरेको पहलले सामाजिक सेवाको सकारात्मक सन्देश दिने बताउनुभयो। स्थानीयस्तरमा यस्ता अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा अझ धेरै नागरिकलाई समेट्नुपर्नेमा उहाँले जोड दिनुभयो।

त्यस्तै, सिद्धार्थनगर–४ का स्थानीय राजन गुप्ताले रक्षा बन्धन दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धलाई आत्मीय बनाउने महत्वपूर्ण पर्व भएकाले सबैले सहज रूपमा पर्व मनाउने वातावरण आवश्यक रहेको बताउनुभयो। उहाँले भैरहवा क्षेत्रमा महिलाका लागि निःशुल्क ई–रिक्सा सञ्चालन गरिनु आवश्यक र उपयोगी पहल भएको उल्लेख गर्नुभयो। आफ्नै सवारीसाधन नभएका तथा सार्वजनिक यातायातमा निर्भर महिलाका लागि यस्तो सेवाले पर्वका दिन आवतजावत गर्न सहज हुने उहाँको भनाइ छ। गुप्ताले आगामी वर्ष ई–रिक्साको संख्या र सेवा क्षेत्र विस्तार गर्न सके अझ धेरै महिला लाभान्वित हुने बताउँदै सामाजिक सेवामा युवाको सक्रियता बढ्नु सकारात्मक भएको उल्लेख गर्नुभयो।

निःशुल्क ई–रिक्सा अभियानले रक्षा बन्धनको अवसरमा महिलाको आवतजावत सहज बनाउनुका साथै आर्थिक अवस्था कमजोर भएका परिवारलाई यातायात खर्चमा राहत दिने उद्देश्य लिएको आयोजकको भनाइ छ। पाँचवटा ई–रिक्साबाट सुरु गरिएको यो अभियानलाई आगामी वर्ष विस्तार गर्ने तयारीसमेत गरिएको छ।

प्रकाशित मिति: २०२६-०८-२८ , समय : १४:२६:५७ , ४४ मिनेटutes अगाडि