सैनामैनामा मृत फेला परे तीन दिनदेखि बेपत्ता पाल्पाका दुई युवा

रुपन्देही खबर , १५२  पटक हेरिएको

बुटवल, भदौ १८

तीन दिनदेखि सम्पर्कविहीन पाल्पाका दुई युवा रूपन्देहीको सैनामैनामा मृत फेला परेका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, जोगदमारका ३२ वर्षीय विपिन पोखरेल र सोही ठाउँका २३ वर्षीय प्रविन पुन मोटरसाइकलसहित खोलामा खसेको अवस्थामा मृत फेला परेका हुन्।

प्रहरीका अनुसार उनीहरू लु २१ प ९८७६ नम्बरको रातो–कालो रङको १५० सीसी पल्सर मोटरसाइकलमा यात्रा गरिरहेका थिए। भदौ १५ गते साँझदेखि दुवै जना सम्पर्कविहीन भएपछि परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए।

खोजी गर्ने क्रममा उनीहरूको शव सैनामैना नगरपालिका–१० स्थित कञ्चन खोलामा फेला परेको प्रहरीले जनाएको छ। मोटरसाइकलसमेत खोलामा फेला परेको बताइएको छ।

फेला परेका शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल ल्याइएको छ। घटनाको प्रकृति र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०९-०३ , समय : १६:४३:५८ , ३ दिन अगाडि