रुपन्देही खबर , ५५ पटक हेरिएको
भैरहवा, भदौ २३
जनता समाजवादी पार्टी (जसपा ) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक प्राकृतिक विपद्सँगै राजनीतिक र आर्थिक संकटबाट गुज्रिरहेको बताउनुभएको छ । कृषि, उद्योग, पर्यटनलगायतका आर्थिक क्षेत्र कमजोर बन्दै गएको तथा जनताले अझै सुशासनको अनुभूति गर्न नसकेको उहाँले दाबी गर्नुभएको हो ।
जसपा नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । आर्थिक सूचकांकहरू कमजोर हुँदै गएको उल्लेख गर्दै उहाँले अर्थतन्त्र सुधारका लागि सरकारको नीति तथा कार्यशैलीमा परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो ।
अध्यक्ष यादवले मुलुकमा भ्रष्टाचार, कमिसनतन्त्र र दलाली प्रवृत्ति अझै कायम रहेको आरोप लगाउनुभयो । यस्ता प्रवृत्तिको शैली र स्वरूप परिवर्तन भए पनि नियन्त्रण हुन नसकेको उहाँको भनाइ थियो ।
‘भ्रष्टाचार, कमिसनतन्त्र र दलालीको तरिका बदलिएको छ, तर पहिलाभन्दा कम भएको छैन, बढ्दै गएको छ,’ यादवले भन्नुभयो, ‘यसले गर्दा नेपाल सुशासन र आर्थिक विकासको बाटोमा अघि बढ्न सकेको छैन ।’
वर्तमान नेतृत्वले सुशासन र आर्थिक विकासका क्षेत्रमा अपेक्षित परिणाम दिन नसकेको उहाँले आरोप लगाउनुभयो । सुधारका लागि प्रयास भएको देखिए पनि नेतृत्व त्यसमा सफल हुन नसकेको उहाँको दाबी थियो । कृषि, उद्योग र पर्यटनजस्ता उत्पादनशील क्षेत्र कमजोर हुँदै जाँदा मुलुकको अर्थतन्त्रमा समेत असर परेको उहाँले बताउनुभयो ।
कर प्रणालीप्रति असन्तुष्टि जनाउँदै यादवले गरिब तथा विपन्न नागरिकमाथि करको भार थप्नु न्यायोचित नभएको बताउनुभयो । ‘जेमा पनि कर बढेको छ । गरिब जनतामाथि कर थप्नु अन्याय हो,’ उहाँले भन्नुभयो । मुलुकको आर्थिक अवस्था सुधार गर्न कर प्रणाली तथा आर्थिक नीतिमा पुनरावलोकन आवश्यक रहेको उहाँको भनाइ थियो ।
अध्यक्ष यादवले राजनीतिक अस्थिरता पनि मुलुकको विकासका लागि प्रमुख चुनौती बनेको बताउनुभयो । बहुदलीय व्यवस्था स्थापना भएको करिब ३४ वर्षको अवधिमा पटक–पटक सरकार परिवर्तन भए पनि जनताले अपेक्षा गरेअनुसारको परिवर्तनको अनुभूति गर्न नसकेको उहाँले दाबी गर्नुभयो ।
उहाँका अनुसार उक्त अवधिमा करिब ३० पटक सरकार परिवर्तन भएको छ । ‘सरकार बनाउने, ढाल्ने तथा पार्टी जोड्ने र तोड्ने काममै ३४ वर्ष बित्यो,’ यादवले भन्नुभयो, ‘जनताले जुन कारणका लागि परिवर्तन खोजेका थिए, त्यो पूरा हुन सकेन । जनताले सुशासनको अनुभूति पाउन सकेनन् ।’
राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको उहाँको भनाइ थियो । विगतका राजनीतिक परिवर्तनले जनतामा विकास, रोजगारी, सुशासन र आर्थिक समृद्धिको अपेक्षा बढाए पनि ती अपेक्षा पूर्ण रूपमा सम्बोधन हुन नसकेको यादवले बताउनुभयो ।
यादवले नेपाली कांग्रेस र कम्युनिष्ट नेतृत्वप्रति पनि आलोचना गर्नुभयो । उहाँले कांग्रेस–कम्युनिष्ट नेतृत्वले मुलुकलाई न्याय, आर्थिक समृद्धि र विकासको बाटोमा अपेक्षित रूपमा अघि बढाउन नसकेको आरोप लगाउनुभयो । विगतमा ती शक्तिहरूसँग सहकार्य तथा राजनीतिक रूपमा अघि बढ्नु जसपा नेपालको समेत कमजोरी भएको उहाँको स्वीकारोक्ति थियो ।
‘हामी कांग्रेस–कम्युनिष्टका पछाडि लाग्यौं, यही नै हाम्रो गल्ती भयो,’ उहाँले भन्नुभयो ।
अध्यक्ष यादवले जसपा नेपाल अब आफ्ना मुद्दा, सिद्धान्त र विचारलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो । पार्टीले आफ्नो राजनीतिक एजेन्डा छाडेर कुनै पनि शक्तिको पछि नलाग्ने निष्कर्ष निकालेको उहाँको भनाइ थियो । पार्टीको अनुशासन र निर्णयविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाही गरिने चेतावनीसमेत उहाँले दिनुभयो ।
पछिल्लो निर्वाचनमा विकास, सुशासन र ‘नयाँ’ राजनीतिक शक्तिको नाराले जनताको समर्थन पाए पनि त्यसअनुसारको परिणाम आउन नसकेको यादवले टिप्पणी गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गरेपछि पनि विकास र सुशासनको अवस्था सुधार हुन नसकेको उहाँको आरोप थियो । मुलुक आर्थिक संकटतर्फ उन्मुख रहेको र अन्तर्राष्ट्रिय वित्तीय निगरानीसम्बन्धी चुनौतीसमेत बढिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जसपा नेपालका उपाध्यक्ष तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले पार्टी प्रतिनिधिसभामा नरहे पनि जनताका मुद्दा लिएर सडकमा रहेको बताउनुभयो । ‘सदन र सरकार तपाईँको होला, अहिले हाम्रो सडक छ,’ उहाँले भन्नुभयो ।
युवा नेता रवि यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा पूर्वरक्षा राज्यमन्त्री रामवचन यादव, लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, जसपा नेपालका केन्द्रीय सदस्य सावित्रा विक, अजय वर्मा, नेतृ विजया खत्री, रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव, निलम यादव, लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव, प्रदेश उपाध्यक्ष मोहम्मद असलम खाँ, जसपा बरिष्ठ नेता रामकिसुन नायक, नवलपरासी जिल्ला अध्यक्ष धरेन्द्र यादव, सिद्धार्थनगर नगरपालिका अध्यक्ष जावेद आलम, लुम्बिनी सांस्कृतिक नगरपालिका अध्यक्ष अहमद हुसेन, गैडहवा गाउँपालिका अध्यक्ष शिवकुमार यादव तथा समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राहुल यादव लगायतले आ आफनो भनाई सहित मन्तब्य राख्नुभएको थियो ।
जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवको अध्यक्षता, तथा जिल्ला सचिव विष्णु अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२६-०९-०८ , समय : १९:२५:२२ , २ घन्टा अगाडि