भैरहवाको सीसीडीमा रक्तदान, ४२ युनिट रगत संकलन

रुपन्देही खबर , ५०  पटक हेरिएको

भैरहवा, असोज २६

रुपन्देहीको भैरहवामा आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ। सिद्धार्थनगर नगरपालिका–७, आवारोडस्थित चिया कम्फोर्ट डाइन (सीसीडी) मा शनिबार आयोजित कार्यक्रममा उक्त परिमाणमा रगत संकलन भएको हो।

तिलोत्तमा रक्तदाता समाज, रुपन्देही, सीसीडी, सेभ फ्युचर नेपाल र लियो क्लब अफ भैरहवाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा लायन्स क्लब अफ भलवारी, लियो क्लब अफ सिद्धार्थनगर सेभियर्स, ओमेगा फिटनेस र इनरह्वील क्लब अफ लुम्बिनी सहआयोजकका रूपमा रहेका थिए।

सामाजिक उत्तरदायित्वअन्तर्गत रगतको अभावमा बिरामीको उपचार प्रभावित हुन नदिन योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सीसीडीका सञ्चालक सीए आनन्द यादवले बताउनुभयो। ‘रक्तदान जीवनदान’ भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रमले आवश्यक परेको समयमा बिरामीलाई उपलब्ध गराउन रगत संकलनमा सहयोग पुग्ने उहाँले जानकारी दिनुभयो।

नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाअन्तर्गत रक्तसञ्चार सेवा एकाइ, सिद्धार्थनगरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

यसैबीच, सीसीडीले शनिबार गायक तथा मोडल दुर्गेश थापालाई स्वागत गरेको छ। चेम्बर अफ कमर्स, रुपन्देहीले आयोजना गरेको सिद्धार्थ सडक खाना महोत्सवमा सहभागी हुन भैरहवा आउनुभएका थापालाई सीसीडीमा स्वागत गरिएको हो।

प्रकाशित मिति: २०२६-१०-१२ , समय : १०:३२:१९ , ३७ मिनेटutes अगाडि