श्री आमा माविका ३५ विद्यार्थी सम्मानित, १८ जनालाई साइकल र १७ जनालाई नगद पुरस्कार

रुपन्देही खबर , ३५  पटक हेरिएको

लुम्बिनी, असोज २४

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १२ ले श्री आमा माध्यमिक विद्यालयका २०८२ सालको एसईई तथा कक्षा १२ को परीक्षामा नियमिततर्फ उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ। शैक्षिक उपलब्धिको कदर गर्दै विद्यार्थीलाई थप अध्ययनका लागि प्रोत्साहित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १८ जनालाई साइकल र १७ जनालाई जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र यादवको अध्यक्षता तथा वडाध्यक्ष हरिकेश लोधको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एसईई उत्तीर्ण १५ जना विद्यार्थीलाई साइकल वितरण गरिएको थियो। त्यस्तै, कक्षा १२ को परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पनि साइकल प्रदान गरिएको थियो भने अन्य १७ जना उत्तीर्ण विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै वडाध्यक्ष लोधले विद्यार्थीको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्न पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाले विद्यार्थीलाई मेहनत र लगनशीलताका साथ अध्ययन गर्न आग्रह गर्दै उहाँले शिक्षाको गुणस्तर सुधार र उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।

लोधले आफू पुनः निर्वाचित भए आगामी दिनमा उत्कृष्ट विद्यार्थीलाई ५० हजार रुपैयाँ नगदसहित ल्यापटप प्रदान गर्ने घोषणा गर्नुभएको छ । विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्दै अध्ययनमा थप सहयोग पुर्‍याउने उद्देश्यले यस्तो प्रोत्साहनको योजना अघि सारेको उहाँले बताउनुभयो।

यस्तै गरी विद्यालयका प्रधानाध्यापक राजेन्द्र यादवले विद्यार्थीको सफलतामा शिक्षक, अभिभावक र विद्यालयको सामूहिक प्रयास महत्त्वपूर्ण हुने बताउनुभयो। विद्यार्थीको मेहनत र उपलब्धिको सम्मानले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै आगामी दिनमा अझ राम्रो नतिजा हासिल गर्न प्रेरणा मिल्ने उहाँको भनाइ थियो। उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकको लगनशीलता, अभिभावकको सहयोग र समुदायको सकारात्मक भूमिकालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा विद्यालयका शिक्षक रमापति यादवले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा कक्षा १० र कक्षा १२ मा अध्यापन गराउने विषयगत शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२६-१०-१० , समय : ०९:२९:०३ , १ घन्टा अगाडि