रुपन्देही खबर , ३८ पटक हेरिएको
भैरहवा, कार्तिक १४
नवलपरासीको परासीस्थित सेतोपुलमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोख्रेलको मृत्यु भएको छ । शुक्रबार भएको सडक दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–१३, भलवाडी निवासी ४२ वर्षीय पोख्रेलको मृत्यु भएको हो ।
भैरहवाबाट पूर्वतर्फ जाँदै गरेको लु.प्र.प.०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको सु.प.प्र.०१–००१ ख ३४९७ नम्बरको ट्रकले परासीको सेतोपुलमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन थापाले जानकारी दिनुभयो ।
मृतक पोख्रेल रूपन्देहीबाट प्रकाशित हुने अग्निपरीक्षा साप्ताहिक पत्रिकाका प्रकाशकसमेत रहनुभएको थियो । पत्रकारितासँगै पत्रिका प्रकाशनमा संलग्न पोख्रेलको सडक दुर्घटनामा मृत्यु भएपछि जिल्लाको पत्रकारिता क्षेत्रमा शोक छाएको छ ।दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २०२६-१०-३१ , समय : ०९:३९:५९ , २ घन्टा अगाडि