प्लाष्टिकका कृत्रिम फूलमाला प्रयोग नगर्न सिद्धार्थनगर नगरपालिकाको अपील

रुपन्देही खबर , ४४  पटक हेरिएको

भैरहवा, कार्तिक १४

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले चाडपर्वका अवसरमा प्लाष्टिकजन्य कृत्रिम फूल तथा माला प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ । वातावरणीय प्रदूषण न्यूनीकरण, स्थानीय उत्पादनको प्रवद्र्धन तथा वातावरणमैत्री नगर निर्माण गर्ने उद्देश्यसहित नगरपालिकाले यस्तो अपील गरेको हो ।

नगरप्रमुख इश्तियाक अहमद खाँद्वारा जारी अपीलमा चाडपर्वका बेला घर, कार्यालय तथा पूजाआजामा सजावटका लागि प्रयोग गरिने प्लाष्टिकका कृत्रिम फूल तथा मालाले वातावरण प्रदूषित गर्नुका साथै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा समेत नकारात्मक असर पार्ने उल्लेख गरिएको छ । प्लाष्टिकजन्य सामग्रीको प्रयोगले वातावरणीय समस्या बढाउने भएकाले यसको प्रयोग निरुत्साहित गर्न आवश्यक रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कृत्रिम फूल तथा मालाको विकल्पमा स्थानीय कृषक र उत्पादकले उत्पादन गरेका प्राकृतिक फूल तथा माला प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । प्राकृतिक फूलको प्रयोगले वातावरण संरक्षणमा सहयोग पुग्नुका साथै स्थानीय उत्पादनको बजार विस्तार गर्न र कृषक तथा उद्यमीको आयआर्जन बढाउनसमेत योगदान पुग्ने नगरपालिकाको विश्वास छ ।

नगरप्रमुख खाँले वातावरण संरक्षण केवल स्थानीय सरकारको प्रयासले मात्र सम्भव नहुने भन्दै यसका लागि नगरवासीको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ । चाडपर्वलाई स्वच्छ, सभ्य र वातावरणमैत्री बनाउन कृत्रिम फूलमालाको सट्टा प्राकृतिक फूल प्रयोग गर्ने संस्कृतिको विकास गर्नुपर्ने उहाँको अपीलमा उल्लेख छ ।

नगरपालिकाले स्वच्छ, हरित र सुन्दर सिद्धार्थनगर निर्माणको अभियानलाई सफल बनाउन सबै नगरवासी, व्यवसायी तथा संघसंस्थालाई वातावरणमैत्री अभ्यास अपनाउन आग्रह गरेको छ । स्थानीय उत्पादनको उपयोगलाई प्राथमिकता दिँदै प्लाष्टिकजन्य सामग्रीको प्रयोग घटाउन सके वातावरण संरक्षणसँगै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने नगरपालिकाको अपेक्षा छ ।

प्रकाशित मिति: २०२६-१०-३१ , समय : ०९:४५:४६ , २ घन्टा अगाडि