रोहिणीका १६ सामुदायिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री

वाटर डिस्पेन्सर, डेस्क–बेन्च र खेलकुद सामग्री हस्तान्तरण

रुपन्देही खबर , ६०  पटक हेरिएको

भैरहवा, कार्तिक १४

रुपन्देहीको रोहिणी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार तथा विद्यार्थीको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले १६ वटा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । गाउँपालिकाले विद्यालयहरूलाई वाटर डिस्पेन्सर, खेलकुद सामग्री तथा आवश्यकताअनुसार डेस्क–बेन्च उपलब्ध गराएको हो ।

बुधबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेत र शिक्षा शाखा प्रमुख कृष्णप्रसाद भट्टराईले सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजित बजेटबाट उक्त सामग्री खरिद गरी वितरण गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत पालिकाभित्रका १६ वटै सामुदायिक विद्यालयलाई वाटर डिस्पेन्सर र खेलकुद सामग्री उपलब्ध गराइएको छ भने डेस्क–बेन्च विद्यालयको आवश्यकता र मागका आधारमा वितरण गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष यादवले सामुदायिक विद्यालयको सुधार र गुणस्तरीय शिक्षाको सुनिश्चितता गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले विद्यालयमा आवश्यक भौतिक पूर्वाधार तथा शैक्षिक सामग्रीको व्यवस्था गर्दै विद्यार्थीलाई सहज र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

‘शिक्षामा गरिएको लगानी भनेको समाजको भविष्य निर्माणमा गरिएको लगानी हो । सामुदायिक विद्यालयमा आवश्यक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था गर्दै प्रत्येक बालबालिकाले सहज वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने अवस्था निर्माण गर्नु हाम्रो प्राथमिकता हो’, अध्यक्ष यादवले भन्नुभयो ।

विद्यालयमा स्वच्छ खानेपानी, व्यवस्थित बसाइ र खेलकुदको सुविधा उपलब्ध हुँदा विद्यार्थीको स्वास्थ्य, सक्रियता र सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ थियो । भौतिक सुविधा विस्तारसँगै सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउन र विद्यार्थीको शैक्षिक उपलब्धि सुधार गर्न पनि आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतले गाउँपालिकाले उपलब्ध गराएका शैक्षिक तथा खेलकुद सामग्रीको उचित प्रयोग र संरक्षण गर्न विद्यालय प्रशासनलाई आग्रह गर्नुभयो । सामग्री विद्यार्थीको हित र सिकाइ प्रक्रियामा प्रभावकारी रूपमा उपयोग हुनुपर्नेमा जोड दिँदै उहाँले प्रधानाध्यापकहरूलाई त्यसको नियमित व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो । गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गर्दै बस्नेतले विद्यालयको आवश्यकता पहिचान गरी आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

त्यस्तै, शिक्षा शाखा प्रमुख भट्टराईले विद्यालयमा भौतिक सुविधा विस्तारसँगै शिक्षण–सिकाइको गुणस्तर अभिवृद्धिमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । आवश्यक शैक्षिक सामग्रीको उपलब्धताले विद्यार्थीको सहभागिता बढाउनुका साथै सिकाइ वातावरण सुधार गर्न सहयोग पुग्ने उहाँको अपेक्षा थियो ।

उहाँले उपलब्ध सामग्रीको सदुपयोग, शिक्षकको सक्रियता, नियमित अनुगमन र विद्यार्थीको सिकाइ उपलब्धि सुधारलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाले विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधार गर्दै सामुदायिक शिक्षालाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने लक्ष्यसहित शिक्षा क्षेत्रमा लगानीलाई निरन्तरता दिएको जनाएको छ ।

प्रकाशित मिति: २०२६-१०-३१ , समय : ११:१८:५६ , ३ घन्टा अगाडि