रुपन्देही खबर , ७४ पटक हेरिएको
मर्चवार, कार्तिक १४
जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका सबै निकायमा जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । उहाँले मधेस लगायत जनसंख्याको अनुपातमा राजनीतिक प्रतिनिधित्व कम भएका क्षेत्रको उचित सहभागिता सुनिश्चित नगरेसम्म समावेशिताको उद्देश्य पूरा नहुने बताउनुभयो ।
शुक्रबार रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ मर्चवारीमा जसपा नेपाल कोटहीमाई गाउँपालिका कार्यसमितिको सम्पर्क कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो धारणा राख्नुभएको हो । गाउँपालिका कार्यसमिति अध्यक्ष राहुल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले कार्यालय उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष यादवले मुलुकको विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र न्यायलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले पछिल्ला राजनीतिक परिवर्तनपछि जनताले सुशासन, विकास र सेवा प्रवाहमा सुधारको अपेक्षा गरे पनि नागरिकको जीवनस्तरमा अपेक्षित परिवर्तन आउन नसकेको टिप्पणी गर्नुभयो ।
शिक्षा र स्वास्थ्य सेवा महँगो हुँदै गएको, कृषि क्षेत्रले अपेक्षित सुधार हासिल गर्न नसकेको तथा भ्रष्टाचार, कमिसन र अनियमितताका कारण नागरिकमा असन्तुष्टि बढेको उहाँको भनाइ थियो । रोजगारीका अवसर सिर्जना हुन नसक्दा युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै उहाँले पछिल्लो छ महिनामा ७५ हजारभन्दा बढी युवा तथा युवती रोजगारीका लागि विदेश गएको दाबी गर्नुभयो ।
सामाजिक सञ्जालमा देखाइने विकास र वास्तविक अवस्थाबीच अन्तर रहेको उल्लेख गर्दै उहाँले सरकारले प्रचारमुखी गतिविधिभन्दा नागरिकको दैनिक जीवनसँग जोडिएका समस्या समाधानमा ध्यान दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष यादवले विकासको आधार गाउँ हुनुपर्नेमा जोड दिँदै गाउँमा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सडक, विद्युत् र सिँचाइको सुविधा विस्तार गर्नुपर्ने बताउनुभयो । ठूला भवन तथा सहरी संरचना निर्माणलाई मात्रै विकास मान्न नसकिने उल्लेख गर्दै उहाँले गाउँका नागरिकले शिक्षा, रोजगारी र सुलभ उपचार पाउने अवस्था निर्माण हुनुपर्ने धारणा राख्नुभयो ।
कृषि क्षेत्रको सुधारका लागि किसानलाई मलखाद, सिँचाइ, विद्युत्, कृषि बजार, उत्पादन भण्डारण र कृषि बीमाको सुविधा उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो । कृषियोग्य जमिनको चक्लाबन्दी गरी आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन वृद्धि गर्न सके किसानको जीवनस्तर सुधार हुने उहाँको भनाइ थियो ।
त्यस्तै, अध्यक्ष यादवले राज्यका निकायमा जनसंख्याको अनुपातअनुसार प्रतिनिधित्व नहुनु विभेदको विषय भएको बताउनुभयो । मधेसमा जनसंख्या बढी भए पनि प्रतिनिधित्व तुलनात्मक रूपमा कम रहेको उल्लेख गर्दै उहाँले सबै क्षेत्र र समुदायको जनसंख्याका आधारमा न्यायोचित सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
मधेस आन्दोलनबाट समावेशिता, सरकारी सेवामा मधेसी, दलित, महिला तथा आदिवासी जनजातिका लागि आरक्षण र नागरिकतासम्बन्धी समस्याको समाधानमा महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँले बताउनुभयो । तर, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै बाँकी रहेका विभेद अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष यादवले विकाससँगै न्यायको सुनिश्चितता पनि आवश्यक रहेको बताउनुभयो । आर्थिक अवस्था र राजनीतिक पहुँचका आधारमा न्याय प्रभावित हुने अवस्थाको अन्त्य गरी गरिब, विपन्न तथा पहुँचविहीन नागरिकले समेत सहज रूपमा न्याय पाउने व्यवस्था हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले जनता समाजवादी पार्टीले अधिकार, विकास र न्यायका विषयलाई राजनीतिक एजेन्डाका रूपमा अघि बढाउँदै आएको बताउँदै आगामी दिनमा निर्वाचन तथा राजनीतिक आन्दोलनमार्फत पनि ती मुद्दा उठाइरहने धारणा राख्नुभयो । नागरिकलाई रोजगारी, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नु राज्यको दायित्व भएको उहाँको भनाइ थियो ।
प्रकाशित मिति: २०२६-१०-३१ , समय : १२:०३:५५ , २ घन्टा अगाडि