रुपन्देही खबर , ६८ पटक हेरिएको
मर्चवार, कार्तिक १४
जनता समाजवादी पार्टी (जसपा) नेपाल कोटहीमाई गाउँपालिका कार्यसमितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष पदका भावी उम्मेदवार राहुल यादवले सीमान्तकृत समुदायको हकअधिकार सुनिश्चित गर्दै कोटहीमाईको समग्र विकासका लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले आदिवासी, जनजाति, दलित, मुस्लिम तथा अन्य पछाडि पारिएका समुदायको अधिकार, सम्मान र न्याय सुनिश्चित गर्नु आफ्नो राजनीतिक प्राथमिकता रहेको बताउनुभयो ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ मर्चवारमा शुक्रबार आयोजित जसपा नेपालको सम्पर्क कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै यादवले यस्तो बताउनुभएको हो ।
उहाँले जसपा नेपालले लामो समयदेखि पछाडि पारिएका समुदायको अधिकारका लागि राजनीतिक संघर्ष गर्दै आएको उल्लेख गर्दै प्राप्त उपलब्धिको संरक्षण र बाँकी अधिकार सुनिश्चित गर्न पार्टीलाई पुनः संगठित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अधिकारको लडाइँलाई निरन्तरता दिन संगठनात्मक शक्ति बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो ।
यादवले संगठनलाई राजनीतिक उद्देश्य प्राप्तिको आधारका रूपमा व्याख्या गर्दै कोटहीमाईमा पार्टीको संगठन विस्तार र सुदृढीकरणमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । आगामी दिनमा आदिवासी, जनजाति, दलित, मुस्लिमलगायत समुदायका समस्या र अधिकारका सवालमा पार्टीले साझा आवाज उठाउने उहाँले बताउनुभयो ।
आफू स्थानीय गाउँकै व्यक्ति र जनताकै बीचमा हुर्किएको उल्लेख गर्दै यादवले स्थानीयवासीको माया, विश्वास र आशीर्वादलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउने बताउनुभयो । जनताको विश्वासलाई कायम राख्दै कोटहीमाईको विकास र नागरिकको सम्मानका लागि काम गर्ने उहाँको प्रतिबद्धता थियो ।
जसपा नेपालको राजनीतिक एजेन्डा स्पष्ट रहेको उल्लेख गर्दै उहाँले समाजमा विभेद र अन्यायमा परेका तथा राज्यको पहुँचबाट वञ्चित नागरिकलाई न्याय दिलाउनु पार्टीको प्रमुख उद्देश्य रहेको बताउनुभयो । संविधान र कानुनले सुनिश्चित गरेका अधिकारसमेत व्यवहारमा प्राप्त हुन नसकेका समुदायका पक्षमा पार्टीले निरन्तर आवाज उठाउने उहाँको भनाइ थियो ।
यादवले कोटहीमाईको विकासका लागि स्थानीय जनताको साथ र सहयोग आवश्यक रहेको बताउँदै आगामी दिनमा पार्टी संगठनलाई थप सुदृढ बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै जनताको साथ र विश्वासबाट मात्रै अधिकार प्राप्ति र विकासको लक्ष्य हासिल गर्न सकिने धारणा राख्नुभयो ।
प्रकाशित मिति: २०२६-१०-३१ , समय : १२:५७:२५ , ३ घन्टा अगाडि