कोटहीमाईमा जसपाको सम्पर्क कार्यालय उद्घाटन, समानुपातिक प्रतिनिधित्व र गाउँकेन्द्रित विकासमा जोड

उपेन्द्र यादवद्वारा अधिकार, न्याय र समावेशिताको मुद्दा उठान; स्थानीय नेतृत्वद्वारा विकास र संगठन विस्तारमा जोड

उर्मिला यादव यात्री , ६६  पटक हेरिएको

मर्चवार, कार्तिक १४

जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ मर्चवारमा सम्पर्क कार्यालय स्थापना गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले कार्यालय उद्घाटन गर्नुभएको हो । पार्टीको स्थानीय संगठन विस्तार र जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यालय स्थापना गरिएको हो ।

जसपा नेपाल कोटहीमाई गाउँपालिका कार्यसमितिका अध्यक्ष राहुल यादवको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समानुपातिक प्रतिनिधित्व, सीमान्तकृत समुदायको अधिकार, गाउँकेन्द्रित विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र न्यायका विषयमा चर्चा गरिएको थियो ।

कार्यालय उद्घाटनपछि सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष यादवले राज्यका सबै निकायमा जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताउनुभयो । मधेसलगायत जनसंख्याको अनुपातमा राजनीतिक प्रतिनिधित्व कम भएका क्षेत्र र समुदायको उचित सहभागिता सुनिश्चित नगरेसम्म समावेशिताको उद्देश्य पूरा हुन नसक्ने उहाँको भनाइ थियो ।

उहाँले मुलुकको विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र न्यायलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै पछिल्ला राजनीतिक परिवर्तनपछि पनि जनताले अपेक्षा गरेअनुसार सुशासन र सेवा प्रवाहमा सुधार हुन नसकेको टिप्पणी गर्नुभयो । शिक्षा तथा स्वास्थ्य सेवा महँगो हुँदै गएको, कृषि क्षेत्रले अपेक्षित सुधार हासिल गर्न नसकेको र भ्रष्टाचार, कमिसन तथा अनियमितताका कारण नागरिकमा असन्तुष्टि बढेको उहाँले बताउनुभयो ।

रोजगारीका पर्याप्त अवसर सिर्जना हुन नसक्दा युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै उहाँले पछिल्लो छ महिनामा ७५ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश गएको दाबी गर्नुभयो । सरकारले प्रचारमुखी गतिविधिभन्दा नागरिकको दैनिक जीवनसँग जोडिएका समस्या समाधानमा ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।

अध्यक्ष यादवले विकासको आधार गाउँ हुनुपर्नेमा जोड दिँदै ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सडक, विद्युत् र सिँचाइको सुविधा विस्तार गर्नुपर्ने बताउनुभयो । ठूला भवन र सहरी संरचना निर्माणलाई मात्रै विकास मान्न नसकिने उल्लेख गर्दै उहाँले गाउँमै शिक्षा, रोजगारी र सुलभ स्वास्थ्य सेवा उपलब्ध हुने अवस्था बनाउनुपर्ने धारणा राख्नुभयो ।

कृषि क्षेत्रको सुधारका लागि किसानलाई मलखाद, सिँचाइ, विद्युत्, कृषि बजार, उत्पादन भण्डारण र कृषि बीमाको सुविधा उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो । कृषियोग्य जमिनको चक्लाबन्दी र आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन वृद्धि गर्न सकिने उहाँको भनाइ थियो ।

मधेस आन्दोलनबाट समावेशिता, सरकारी सेवामा मधेसी, दलित, महिला तथा आदिवासी जनजातिका लागि आरक्षण र नागरिकतासम्बन्धी समस्याको समाधानमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्दै उहाँले प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताउनुभयो । आर्थिक अवस्था र राजनीतिक पहुँचका आधारमा न्याय प्रभावित हुने अवस्थाको अन्त्य गरी गरिब, विपन्न तथा पहुँचविहीन नागरिकले पनि सहज रूपमा न्याय पाउने व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले स्थानीय तहको विकास र जनताको अपेक्षा पूरा गर्न नयाँ पुस्ताको नेतृत्वलाई अवसर दिनुपर्ने बताउनुभयो । विगतमा लामो समयसम्म विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनिधिले नेतृत्व गरे पनि गाउँको अपेक्षाअनुसार विकास हुन नसकेको उल्लेख गर्दै नेतृत्वको मूल्यांकन काम र परिणामका आधारमा हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले कोटहीमाई गाउँपालिकाका अध्यक्ष राहुल यादवको सक्रियता र विकासप्रतिको चासोको प्रशंसा गर्दै युवा नेतृत्वलाई काम गर्ने अवसर दिन स्थानीयवासीलाई आग्रह गर्नुभयो । जनताले निर्वाचित प्रतिनिधिको कामको मूल्यांकन गर्नुपर्ने र अपेक्षाअनुसार काम नभए आगामी निर्वाचनमा परिवर्तन गर्न सक्ने अधिकार जनतामै रहेको उहाँले बताउनुभयो । कोटहीमाईको विकासका सवालमा पार्टी नेतृत्वले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा समाजसेवी अमित यादवले कोटहीमाईको विकासका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर पाँचवर्षे योजना बनाउनुपर्ने बताउनुभयो । गाउँको आवश्यकताअनुसार विकासका योजना निर्माण गर्नुपर्ने उल्लेख गर्दै उहाँले स्मार्ट सिटीको नाराभन्दा पहिले स्मार्ट गाउँ निर्माणमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

शिक्षा क्षेत्रमा आफू लामो समयदेखि सक्रिय रहेको उल्लेख गर्दै उहाँले नेपाल सरकारबाट मान्यताप्राप्त शैक्षिक संस्था सञ्चालन गर्नुका साथै शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न तहमा काम गरेको बताउनुभयो । स्थानीय तहमा शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक नीति, नियम र कार्यविधि निर्माणमा समेत भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो । जनप्रतिनिधि तथा नेतृत्वमा पुगेका व्यक्तिहरू जनताप्रति जवाफदेही हुनुपर्ने र जनताले कामको हिसाब माग्न पाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल कोटहीमाई गाउँपालिका कार्यसमितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष पदका भावी उम्मेदवार राहुल यादवले सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्दै कोटहीमाईको समग्र विकासका लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आदिवासी, जनजाति, दलित, मुस्लिम तथा अन्य पछाडि पारिएका समुदायको हकअधिकारका लागि आवाज उठाउनु आफ्नो राजनीतिक प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

जसपा नेपालले ती समुदायको अधिकारका लागि गर्दै आएको संघर्षलाई निरन्तरता दिन पार्टी संगठनलाई पुनः सुदृढ बनाउनुपर्ने उल्लेख गर्दै उहाँले स्थानीय जनताको साथ र सहयोगको अपेक्षा गर्नुभयो । समाजमा विभेद र अन्यायमा परेका तथा राज्यको पहुँचबाट वञ्चित नागरिकलाई न्याय दिलाउनु पार्टीको मुख्य उद्देश्य रहेको उहाँको भनाइ थियो । स्थानीयवासीको विश्वास र आशीर्वादका आधारमा कोटहीमाईको विकास तथा नागरिकको अधिकारका लागि अघि बढ्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव, जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादव, केन्द्रिय सदस्य सवित्रा बि.क. नीलम यादव लगायत पार्टीका विभिन्न तहका नेता, अगुवा, कार्यकर्ता तथा शुभचिन्तकहरूको गरिमामय सहभागिता रहेको थियो । भने कार्यक्रम संचालन समाजसेवी मुकेश यादवले संचालन गर्नु भएको थियो भने कार्यक्रममा भोजपुरी बिरहा समेत प्रस्तुत गरिएको थियो ।

 

प्रकाशित मिति: २०२६-१०-३१ , समय : १३:३०:१७ , २ घन्टा अगाडि