रुपन्देही खबर , ४५ पटक हेरिएको
मर्चवार ,कार्तिक १४
रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित मर्चवार आदर्श बहुमुखी क्याम्पसमा तीनदिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी ई–क्लब अफ मेडिको फ्युजनको संयुक्त आयोजना तथा कोटहीमाई गाउँपालिका वडा नं. ५ को सहकार्यमा उक्त शिविर सञ्चालन हुन लागेको हो ।
कार्तिक १८, १९ र २० गते सञ्चालन हुने शिविरमा आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया, नाक, कान तथा घाँटीको परीक्षण र उपचार, स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर परीक्षण, उपचार र परामर्श सेवा प्रदान गरिनेछ । साथै, हिँडडुल गर्न समस्या भएका अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर वितरण, जनरल फिजिसियनद्वारा स्वास्थ्य परीक्षण तथा पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड वितरण गरिने कार्यक्रम संयोजक रोटेरियन कृष्णप्रसाद पाण्डेले जानकारी दिनुभयो
संयोजक पाण्डेका अनुसार कार्तिक १८ र १९ गते विभिन्न स्वास्थ्य समस्याको ओपीडी परीक्षण गरिनेछ भने २० गते मोतियाबिन्दुको समस्या देखिएका बिरामीको शल्यक्रिया गरिनेछ ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित गरिब, असहाय, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । विशेषगरी मर्चवारीमाई, सम्मरीमाई, कोटहीमाई र मायादेवी गाउँपालिकाका बासिन्दालाई शिविरबाट लाभान्वित गराउने लक्ष्य राखिएको छ ।
कोटहीमाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष सञ्जयकुमार सैनीले दक्ष चिकित्सकबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने भएकाले शिविरबाट अधिकतम लाभ लिन सबैलाई आग्रह गर्नुभएको छ । एउटै शिविरबाट विभिन्न प्रकारका स्वास्थ्य सेवा प्राप्त गर्न सकिने भएकाले मर्चवार क्षेत्रका लागि यो महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उहाँले सम्बन्धित बिरामी तथा सेवाग्राहीलाई शिविरमा सहभागी हुन आग्रह गर्नुभयो ।
मर्चवारीमाई, सम्मरीमाई र कोटहीमाई गाउँपालिकाको सहयोग रहने उक्त शिविरबाट पाँच हजारभन्दा बढीलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२६-१०-३१ , समय : २२:२३:१६ , २ घन्टा अगाडि