तिहार र छठलाई लक्षित गर्दै नेपाल प्रहरीको विशेष सुरक्षा योजना

बजार अनुगमनदेखि सवारी जाँचसम्म कडाइ

रुपन्देही खबर , ३६  पटक हेरिएको

काठमाडौं, कात्तिक २०

नजिकिँदै गरेका तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि, चोरी, लुटपाट, ठगी, जुवातास, अवैध कारोबार तथा सम्भावित दुर्घटना नियन्त्रण गरी शान्ति, सुरक्षा र अमनचयन कायम राख्ने उद्देश्यले प्रहरीले विशेष सुरक्षा योजना–२०८३ कार्यान्वयनमा ल्याएको हो।

चाडपर्वका बेला नागरिकको आवागमन बढ्ने, बजारमा भीडभाड हुने तथा विभिन्न सामाजिक र सांस्कृतिक गतिविधि सञ्चालन हुने भएकाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै देशभर आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। सार्वजनिक स्थान, मुख्य बजार, सीमा नाका, भन्सार क्षेत्र तथा सार्वजनिक यातायातमा निगरानी र चेकजाँचलाई तीव्र बनाइएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार चाडपर्वलाई सुरक्षित, सभ्य र मर्यादित बनाउन प्रहरीले विभिन्न सुरक्षा रणनीति अवलम्बन गरेको छ। उहाँले सीमा नाका, भन्सार क्षेत्र, सार्वजनिक यातायात तथा मुख्य बजार क्षेत्रमा विशेष अनुगमन र चेकिङ टोली परिचालन गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार पटका तथा अन्य प्रज्ज्वलनशील र विस्फोटक पदार्थको गैरकानुनी ओसारपसार, भण्डारण र बिक्रीवितरण नियन्त्रण गर्न प्रहरी सक्रिय छ। त्यस्तै, जुवातास, सट्टेबाजी तथा अन्य अवाञ्छित गतिविधि हुन सक्ने सम्भावित क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।

तिहारमा देउसी–भैलो कार्यक्रम स्थानीय प्रशासनले निर्धारण गरेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ। पटका, आतिशबाजी तथा विस्फोटक पदार्थको प्रयोगले आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग, सम्पत्तिमा क्षति तथा वातावरणीय प्रदूषण निम्त्याउन सक्ने भएकाले त्यसको प्रयोग नगर्न प्रहरीले विशेष अनुरोध गरेको छ।

प्रहरीले बालबालिकालाई पटका तथा प्रज्वलनशील पदार्थबाट टाढा राख्न अभिभावकलाई आग्रह गरेको छ। घर तथा पसलमा विद्युत् सर्ट भएर आगलागी हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन र दमकल तथा विपद् व्यवस्थापन टोलीलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको पनि जनाएको छ।

चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, जुवातास खेल्ने तथा राति अबेरसम्म चर्को आवाजमा डिजे र साउण्ड सिस्टम बजाउने गतिविधिले सामाजिक सद्भाव र सार्वजनिक शान्तिमा असर पार्न सक्ने भएकाले त्यस्ता गतिविधिमाथि निगरानी बढाइएको छ। र्‍याली, जुलुस तथा शोभायात्राका क्रममा हुन सक्ने विवाद र झडप न्यूनीकरण गर्न पनि सुरक्षा व्यवस्थापन मजबुत बनाइएको प्रहरीले जनाएको छ।

यसैगरी, चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि तथा उपभोक्ता ठगी नियन्त्रण गर्न प्रहरीले बजार अनुगमनलाई समेत प्राथमिकता दिएको छ। खाद्यान्न, लत्ताकपडा, इन्धन तथा दैनिक उपभोग्य वस्तुको माग बढ्ने समयमा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्ने, बढी मूल्य लिने, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तु बिक्री गर्ने सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित निकायसँग समन्वय गरी अनुगमन भइरहेको छ।

नेपाल प्रहरीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गरी बजार निगरानी गरिरहेको जनाएको छ। ठूला व्यापारिक केन्द्र, गोदाम, डिपो तथा आपूर्ति मार्गमा चेकजाँच बढाउनुका साथै उपभोक्ताबाट प्राप्त गुनासो र उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गर्न प्रहरी कार्यालयहरूलाई निर्देशन दिइएको छ।

विशेषगरी तिहारमा फूलमाला तथा पूजासामग्रीको माग बढ्ने भएकाले कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने र उपभोक्तालाई ठगी गर्ने गतिविधि रोक्न पनि निगरानी बढाइएको छ। व्यवसायीलाई पारदर्शी मूल्यमा वस्तु बिक्रीवितरण गर्न आग्रह गर्दै मूल्यसूचीको पालना र उपभोक्ता हित संरक्षणमा ध्यान दिइएको प्रहरीले जनाएको छ।

त्यस्तै, चाडपर्वका समयमा हुन सक्ने चोरी, डकैती, लुटपाट, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार तथा अवैध हुण्डी कारोबार नियन्त्रण गर्न पनि विशेष प्रहरी परिचालन गरिने भएको छ। भीडभाड हुने बजार, मेला तथा सार्वजनिक स्थलमा हुन सक्ने चोरी र ठगीका घटनालाई न्यूनीकरण गर्न निगरानी र सुरक्षा चेकजाँचलाई प्रभावकारी बनाइएको छ।

काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारीसाधनमा पनि विशेष जाँच गरिने प्रहरीले जनाएको छ। यात्रु बोकेर गन्तव्यतर्फ प्रस्थान गर्नुअघि चालकको सवारी चालक अनुमतिपत्र, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरे–नगरेको अवस्था, सवारीसाधनको सिट क्षमताअनुसार यात्रु राखे–नराखेको तथा सवारीको यान्त्रिक अवस्था जाँच गरिनेछ।

लामो दूरीका सवारीसाधनमा दुई जना चालक भए–नभएको यकिन गर्न ट्राफिक कम्युनिकेसन एप्लिकेसन (टीसीए) प्रयोग गरी जाँच गरिने व्यवस्था पनि मिलाइएको छ। यसबाट लामो दूरीको यात्रालाई सुरक्षित बनाउनुका साथै चालकको थकानका कारण हुन सक्ने दुर्घटना न्यूनीकरण गर्ने प्रहरीको अपेक्षा छ।

नेपाल प्रहरीले चाडपर्वको समयमा नागरिकको सुरक्षा, सहज आवागमन तथा शान्तिपूर्ण वातावरण कायम राख्न सूचना, प्रविधि, प्रहरी परिचालन र नागरिक सहकार्यलाई मुख्य आधार बनाएको जनाएको छ।

प्रहरीले तिहारलाई उज्यालो, खुसी, आपसी सद्भाव र भाइचाराको पर्वका रूपमा मनाउन आग्रह गर्दै पटका तथा आतिशबाजीको सट्टा दीप प्रज्वलन, देउसी–भैलो, सांस्कृतिक कार्यक्रम र पारिवारिक भेटघाटमार्फत खुसी साटासाट गर्न अनुरोध गरेको छ।

कुनै स्थानमा आगलागी, विस्फोट वा अन्य दुर्घटना भए तत्काल नजिकको प्रहरी कार्यालय, दमकल वा सम्बन्धित निकायमा खबर गर्न तथा अवैध रूपमा पटका र विस्फोटक पदार्थको कारोबार, भण्डारण वा प्रयोग भएको पाइए प्रहरीको हटलाइन १०० मा जानकारी गराउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपाल प्रहरीले आम नागरिक, अभिभावक, व्यवसायी, स्थानीय तह तथा सरोकारवाला सबैको सहयोग र सहकार्यबाट चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन सकिने उल्लेख गर्दै नागरिकको सुरक्षा र शान्तिका लागि प्रहरी सदैव साथमा रहेको जनाएको छ।

प्रकाशित मिति: २०२६-११-०६ , समय : ०९:२०:४० , ५८ मिनेटutes अगाडि