रुपन्देही खबर , ३३ पटक हेरिएको
काठमाडौं, कात्तिक २०
नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। यमपञ्चकका रूपमा समेत चिनिने तिहारको पहिलो दिन शुक्रबार धनतेरस र यमदीपदान मनाइँदैछ। धनतेरस विशेषगरी मधेशको प्राचीन मिथिला क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आए पनि पछिल्ला वर्षमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा यसको प्रचलन विस्तार हुँदै गएको छ। धनतेरसका अवसरमा साँझ घरघरमा दीप प्रज्वलन गरी धातुका नयाँ भाँडाकुँडा तथा गरगहना खरिद गरेर पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ।
धनतेरसकै दिन यमदीपदान गर्ने चलन पनि रहेको छ। यस दिन साँझ घरबाहिर दीप प्रज्वलन गरी यमराजको पूजा आराधना गरिन्छ। धार्मिक मान्यताअनुसार यमदीपदानले अकाल मृत्युको भयबाट मुक्ति मिल्ने र परिवारमा सुख, शान्ति तथा समृद्धि कायम हुने विश्वास गरिन्छ।
यस वर्षको तिहारअन्तर्गत कात्तिक २१ गते शनिबार कागपूजा र धन्वन्तरी जयन्ती मनाइनेछ। त्यसैगरी कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा परेको छ। कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ।
यस्तै, कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ। सोही दिनदेखि नेपाल संवत् ११४७ समेत सुरु हुनेछ। यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको छ।
पाँच दिनसम्म मनाइने तिहारमा काग, कुकुर, गाई, गोरु तथा दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता र सम्बन्धलाई विशेष महत्त्व दिइन्छ। दीपावली, देउसीभैलो र विभिन्न सांस्कृतिक गतिविधिसहित मनाइने यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने विश्वास गरिन्छ।
प्रकाशित मिति: २०२६-११-०६ , समय : १०:१०:५८ , ३० मिनेटutes अगाडि