यू–१९ नेपाली महिला टोलीको लगातार चौथो जित

रुपन्देही खबर , २६  पटक हेरिएको

काठमाण्डौ,कात्तिक २१

चीनमा चलिरहेको यू–१९ ‘बेल्ट एन्ड रोड सिरिज’मा यू–१९ महिला क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ । आज भएको खेलमा नेपालले आयोजक चीनलाई ८४ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका लागि टीका शाहले ३५ बलमा अविजित ४३ रन बनाइन् । कप्तान सोनी पाख्रिनले ३१, सावित्री धामीले २४ र साना प्रवीनले १३ रनको योगदान दिइन् ।  चीनका चुनजुङ वाङ र शुतिङ याङले २/२ विकेट लिए ।

नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको चीन १३.३ ओभरमा ५७ रनमा अलआउट भयो । चीनका युफेई सुनले २७ बलमा सर्वाधिक २८ रन बनाइन् । चीनलाई सस्तैमा समेट्न नेपालका रचना चौधरी र टीका शाहले ३/३ विकेट लिए ।

प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्ड सहभागी छन् । नेपालले आगामी वर्ष घरेलु मैदानमा आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकपको तयारी स्वरूप चीनमा शृङ्खला खेलिरहेको हो ।

प्रकाशित मिति: २०२६-११-०७ , समय : २०:३३:४२ , २१ मिनेटutes अगाडि