रुपन्देही खबर , २१३ पटक हेरिएको
सुर्खेत, चैत ११
जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डाक्टर सीके राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने वर्गले अध्ययनलाई महत्व दिनुपर्ने बताउनु भएको छ । पहिलोपटक आयोजना गरिएको कर्णाली लिट्रेचर फेस्टिभल कर्णाली साहित्य महोत्सव अन्तर्गत ‘नेतृत्व र पठन’ विषयमा राखिएको सत्रमा वक्ताका रुपमा बोल्दै राउतले नेतृत्व वर्गले आफू र आफ्ना जनताका लागि ज्ञान लिनु जरुरी रहेको बताउनु भएको छ।
उहाले नेतृत्व वर्गले सामाजिक, आर्थिक लगायत देश–विदेशको अवस्थाका बारेमा जानकार हुनुपर्नेमा जोड दिनु भएको छ । ‘अहिले किन पढ्नुप¥यो भन्ने खालको भाष्य पैदा भईरहेको छ, तर त्यो गलत हो,’ उहाले भन्नु भयो , ‘पढ्नु एकदमै आवश्यक छ, अहिले विभिन्न किताबमा आधारित फिल्म बनाउने चलन आएको छ।’
अहिलेको सूचनाप्रविधिको युगमा पढ्ने प्रचलन कम भएको उहाले बताउनु भएको छ । मानिसले बर्षमा कति किताब पढ्छ र कस्ता किताब पढ्छन भन्ने कुराले व्यक्तित्व झल्काउने राउतले बताउनु भयो ।
वर्तमानमा ‘पढेलेखेकाहरुले देश बिगारे’ भन्ने भाष्य समाजमा निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन नसकेको राउतले बताउनु भएको छ । ‘पहिले गाउँघरमा पढेलेखेका मान्छे भेटिँदा सम्मान हुन्थ्यो, अहिले त आक्रोश पोखिन्छ,’ उहाले भन्नु भयो , ‘यो देश पढेलेखेकाहरुले बिगारे भनिन्छ, यहाँ पढेलेखेका मान्छेको कदर भइरहेको छैन।’
उहाले अहिलेको सरकार संसदप्रति जिम्मेवार नभएको टिप्पणी गर्नु भएको छ । पहिलेका तुलनामा अहिले संसदमा सैद्धान्तिक छलफलको महत्व घटेको उहाले बताउनु भएको छ । संसदमा पनि पढेका मानिसको उपस्थितिले फरक अर्थ राख्ने गरेको अनुभव सुनाउनु भयो ।
उक्त सत्रमा वक्ताका रुपमा रहनु भएको वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले पछिल्लो पुस्तामा पठन र लेखन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउनु भएको छ । अहिलेको समयमा युवाहरुले सामाजिक सञ्जालमा बढी समय दिने भएकाले पठनमा ध्यान नदिने गरेको उहाको भनाइ छ ।
मेयर ढकालले इतिहासको बारेमा जान्न अध्ययन गर्नु अनिवार्य हुने बताउनु भयो । ‘हामीले विद्यालय शिक्षालाई निकै महत्व दिएर लागिरहेका छौँ, कोही पनि विद्यालय बाहिर नरहनेगरि अघि बढेका छौं,’ उहाले भन्नु भयो ‘यसबाहेक पुस्तक अध्ययनको वानी पनि बसाल्न पठन संस्कृतिको विकास गर्नु जरुरी छ।’
प्रकाशित मिति: २०२४-०४-२३ , समय : १९:४४:२८ , ५ महिना अगाडि