अनिल यादव , ५४१ पटक हेरिएको
नवलपरासी , असार ८
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै १२ औं गाउँसभा शुरु गरेको छ । गाउँपालिकाले १२औँ गाउँसभामा ‘किसानको उन्नती, प्रतापपुरवासीको प्रगति’ भन्ने मूल नाराका साथ कृषि क्षेत्रलाई प्राथमिकता दिँदै गाँउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
कृषिलाई व्यवसायीकरण गरी कृषि प्रयोगशाला निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । प्रतापपुर गाँउपालिका भित्र कृषि योग्य जग्गा बढी भएको हुनाले कृषिमा प्राथमिकता दिएको छ ।
यस्तै, यस पालिका भित्र केरा र उखुखेती बढी हुने भएकाले गाउँपालिकालाई केरा पकेट क्षेत्रको रुपमा विस्तार गर्दै केरा र उखुको बिउ बिजनको व्यवस्था गरी अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रम पालिकाले प्रस्तुत गरेको छ। कृषक परिचय पत्रको व्यवस्था समेत मिलाईने अध्यक्ष यादवले नीति तथा कार्यक्रममा मार्फत जानकारी गराउनु भएको छ ।
यस्तै, शिक्षातर्फ गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुलाई एकरुपता ल्याउन एउटै रंगरोगनको व्यवस्था गरिने छ । माध्यामिक विद्यालयहरुमा प्राविधिक धारको शिक्षा सञ्चानलन गरिने छ भने १२ कक्षा उत्तिर्ण गरी स्नातक प्रथम वर्षमा अध्ययनरत छात्राहरुलाई निःशुल्क साइकल वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्वास्थ्यमा १५ शैयाको अस्पताल निर्माणलाई निरन्तरता दिँदै आयुर्वेद गाउँघर क्लिनिकलाई निरन्तरता दिइने उल्लेख छ। विपन्नको लागि एम्बुलेन्स खर्च व्यहोर्न सम्बन्धित संस्थामा सहयोग कोषको स्थापना गरिने छ । ६० वर्ष पूरा भएका महिला स्वास्थ्य स्वंय सेविकाहरुका लागि स्वयंसेविका कल्याण कोष स्थापना गरिने उल्लेख छ ।
यस्तै, यसपालिका भित्र फोहोर मैला व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साइडको खोजी गरी व्यवस्थापन गर्ने र गाउँपालिकाको प्रशासनिक भवन निर्माण समेत गरीने नीति रहेको छ ।
पूर्वाधार विकासतर्फ आगामी पाँच वर्षभित्र कच्ची रहित सडक निर्माणका लागि गाउँभित्रको बाटोलाई पीपीसी र आरसीसी तथा बाहिरी बाटोलाई कालोपत्रे बनाई प्रतापपुरलाई चक्रपथ निर्माण गरिने उल्लेख छ । अव्यवस्थित बसोबासीहरुको लगत तथा तथ्यांक सङ्कलन गरी समस्या समाधान गर्ने नीति लिइएको छ ।
सहकारी शिक्षालाई प्राथमिकता दिँदै सहकारी मर्जलाई जोड दिएको छ भने गाउँपालिकालाई पाँच वर्षभित्र झुपडीमुक्त बनाउन आवास निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । खेलकुदतर्फ रंगशाला निर्माण एंव खेलकुद मैदानहरुको स्तरोन्नती गरिने जनाइएको छ ।
कार्यक्रममा स्वागत मन्त्वय सहित उपाध्यक्ष मानकुमारी चौधरीले गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सबैको सहयोग हुन आवश्यक रहेको बताउनु भएको छ
गाउँसभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सांसद हृदयेश त्रिपाठीले स्थानीय सरकार संघीयताको उपलब्धी भएकाले जनताका आवश्यकतालाई जोड दिएर काम गर्नुपर्ने बताउनुभयो । वडास्तरमा योजना तानातान गरेर लैजानुभन्दा ठोस योजनामा जोड दिनुपर्ने उहाँको भनाइ छ ।
केही वर्षदेखि स्थानीय तहमा बेरुजुको अवस्था बढ्दै गएकोले बताउँदै पहिला पहिला आन्तरिक प्रशासनलाई सुधार गर्नुपर्नेमा जोड त्रिपाठीले जोड दिनुभयो । नीति तथा कार्यक्रमलाई समेट्दै भोली बुधबार प्रतापपुर गाउँपालिकाले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्ने जनाएको छ ।
प्रकाशित मिति: २०२२-०६-२२ , समय : २१:३७:०३ , २ वर्ष अगाडि