रुपन्देही खबर , ३३ पटक हेरिएको
दाङ, भदौ २३
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले मनाउने बर्का अट्वारी एक विशेष धार्मिक र साँस्कृतिक पर्व भएको बताउनु भएको छ । बर्का अट्वारी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले यस पर्वले थारू समुदायको धर्म, संस्कृति, र परम्परालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भएको हो ।
‘थारू समुदायमा बर्का अट्वारी पर्वको निकै महत्व रहेको छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतबार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ’शुभकामना सन्देशमा भनिएको छ,‘आइतवारलाई रविवार पनि भनिन्छ । रवि अर्थात् सूर्य । सूर्य अग्निको प्रतीक पनि हो । प्रंकृति पूजक थारू समुदायले विशेष गरी सूर्यको उपासना, पूजाआजा गरी बर्का अट्वारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहिआएको छ । यस पर्वले थारू समुदायको धर्म, संस्कृति, र परम्परालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।’
लुम्बिनी प्रदेश सरकार प्रदेशभित्र बसोबास गर्ने सबै जाति, समुदायले मनाउने आ–आफ्नै मौलिक, धार्मिक, साँस्कृतिक परम्पराहरूको संरक्षण, सम्वद्र्धन र प्रवर्धनको लागि प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यले बताउनु भएको छ । मौलिक, कला, संस्कृतिहरूको प्रवर्द्धनबाट प्रदेशको पर्यटन विकास गर्न सकिने भएकाले संरक्षणसँगै यसको कला–संस्कृतिको प्रवर्द्धनमा जुट्न पनि आह्वान गर्नु भएको छ ।
लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी जिल्लामा आइतबार (आज) सार्वजनिक बिदा समेत दिएको छ ।
बर्का अट्वारी पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ । यो पर्व निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने साँस्कृतिक मान्यता छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतबार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ ।
प्रकाशित मिति: २०२४-०९-०८ , समय : ०८:५६:२० , १ महिना अगाडि