हरि शर्मा , २३९ पटक हेरिएको

नवलपरासी, फागुन १३
नवलपरासीको सुनवल नगरपालिकामा बेथिति बढेको भन्दै स्थानीय राजनीतिक दलले गम्भिर चासो देखाएका छन् । शिक्षा क्षेत्रमा भएको हस्तक्षेपदेखि नगरपालिकामा भएका आर्थिक अनियमिता, नियमविपरीत कर्मचारी भर्ना, आफूखुसी योजना छनौट लगायतका काममा बेथिति बढेको आरोप लगाउँदै चासो दिएका हुन् । नगरपालिकामा बढ्दै गएको बेथितिका विषयलाई बुँदागत रुपमा उनीहरुले प्रस्तुत गरेका छन् । देखिएका बेथितिका विषयसहित नगरपालिकाले सुधार गर्नुपर्ने विषय र हुन नसकेका योजना र कार्यक्रमका बारेमा समेत जानकारी माग्र्दै राजनीतिक दलका प्रतिनिधिहरुले नगर प्रमुख विमला अर्याललाई ३५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नेपाली कांग्रेसका जिल्ला सदस्य एंव नगर संयोजक यमलाल पाण्डेय, माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष मोहनबहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य देवी घिमिरे नेतृत्वको प्रतिनिधि मण्डलले बुझाएको ध्यानाकर्षणमा उक्त आरोप लगाइएको हो । नगर प्रमुख अर्याललाई बुझाएको ध्यानाकर्षण पत्रमा नगरपालिकाले स्थानीय तह सञ्चालन ऐन एंव सञ्चालन कार्यविधिको बेवास्ता गर्दै काम गर्ने गरेको, प्रतिस्पर्धा र छनौट विधि अवलम्वन नगरी करारमा कर्मचारी छनौट गरेको उल्लेख छ । उनीहरुले विधि र प्रकृया नपु¥याई आफू निकट दलका १७ जनालाई करारमा कर्मचारी नियुक्त गरेको आरोप लगाएका छन् । नगर प्रमुख अर्याल एमालेबाट निर्वाचित हुनुहुन्छ ।
त्यसैगरी नयाँ कार्यालय भवन निर्माण पश्चात कार्यालयलाई आवश्यक पर्ने कार्पेट, फर्निचर र डेकोरेशन गर्दा बिना प्रतिस्पर्धा सार्वजनिक खरिद ऐनविपरीत कमशल र बजार दर रेटभन्दा बढी बिल भरपाई बनाई आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । नदीजन्य पदार्थको चरम दोहोन हुँदा समेत ठेक्का प्रकृयामा नगएको, विरोध र बहिष्कारका बिच नगर सभा गरेर आफूखुसी योजना ल्याउने र त्यसरी ल्याइएका टुक्रे योजनाहरु आफू निकटलाई दिने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
अघिल्लो जनप्रतिनिधिहरुको पहलमा दातृ संस्थाबाट प्राप्त भएका दुई करोड बराबरका स्वास्थ्य सामग्रीहरु प्रयोगमा नल्याई थन्काएर राखेको र अघिल्लो जनप्रतिनिधिहरुकै समयमा ल्याण्डफिल्ड साइट निर्माणका लागि प्राप्त भएको चार करोडले प्रकृया अघि बढेको र अहिले समेत आएको थप रकम फ्रिज भएको, ज्यामिरे अस्नैया हुँदै रामग्राम जोड्ने रणनीतिक सडक २० करोडमा सम्पन्न भएको र उक्त योजना अलपत्र भएको भन्दै उक्त कार्यहरु हुन नसक्नुको कारणको माग गरिएको छ ।
त्यस्तै अघिल्लो जनप्रतिनिधिहरुले ल्याएका र सञ्चालन गरेका गौरबका योजनाहरु, अन्य योजनाहरु कटौती गर्ने र कार्यान्वयन नगरेको, वडा नम्बर ५ र ८ मा अस्पताल बनाउने योजना सुरुवात नगरेको पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी संघीय शिक्षा ऐनको आधारमा नगर शिक्षा ऐनमा नभएको व्यवस्थालाई टेकेर महाकवि देवकोटा नमूना विद्यालयको व्यवस्थापन समिति गठनमा हस्तक्षेप गरेको, विभिन्न विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई बिना कारण सरुवा गर्ने गरेको, किसानका लागि आउने अनुदान र कार्यक्रम आफू निकटका व्यक्तिहरुलाई दिने गरेको, वडा नम्बर ३ र १२ मा निर्माणाधिन कभर्डहल अलपत्र अवस्थामा पुग्दासमेत ध्यान नदिएको, महिला मैत्री अभियानको लागि बिनियोजित बजेट र कार्यव्रmम आफू निकटमा केन्द्रित गरेको, नगर कार्यपालिकाको बैठकमा छलफल र निर्णय समेत नगराई झ्यालबाट योजना र ऐनहरु प्रवेश गराई बहुमतको नाउँमा पास गर्ने गरेको, लुम्बिनी चिनी उद्योगको प्रदुषण नियन्त्रणमा चासो नदिएको जस्ता आरोप पत्रमा लगाइएको छ । आफूहरुले राखेका माग र मागेको जानकारी १५ दिनभित्र नदिए आन्दोलन गर्ने चेतावनीसमेत ध्यानाकर्षण पत्रमा दिइएको छ ।
यता नगर प्रमुख विमला अर्यालले भने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका विषय आरोपमा केन्द्रित भएको बताउनु भएको छ । केही विषय सकरात्मक सुझावका रुपमा पाएपनि अधिकांशमा मिथ्या आरोप लगाइएको उहाको भनाई छ । ‘हामीले गरेका काम सबैलाई राम्रो नलाग्न सक्छ । स्थानीय सरकारले काम गर्ने विधि र प्रकृया छन् । चित्त नबुझेका र आवश्यक पर्ने विषयका बारेमा म आफैंलाई भेटेर वा सूचना अधिकारीमार्फत पनि सूचनाको हक प्रयोग गरेर लिन सकिन्छ । ’ उहाले भन्नु भयो ।
प्रकाशित मिति: २०२५-०२-२५ , समय : ११:२३:०५ , ३ महिना अगाडि