चाडपर्वमा शान्ति सुरक्षा र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न जोड

रुपन्देही खबर , ३५  पटक हेरिएको

भैरहवा, असोज २९

सिद्धार्थ सञ्जाल रुपन्देहीले विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा, सामाजिक सद्भाव र पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउन सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।

सञ्जालका अध्यक्ष अनिल ज्ञवालीको अध्यक्षता तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका सुरक्षा निकाय, सरकारी कार्यालय, सञ्चार क्षेत्र, उद्योग तथा पर्यटन व्यवसायसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, कालोबजारी तथा सवारी दुर्घटनाजस्ता घटनाको नियन्त्रणका लागि सुरक्षा निकाय सक्रिय रहेको बताउनुभयो। उहाँले नियमित गस्ती, चेकजाँच तथा प्राप्त सूचनाका आधारमा तत्काल प्रतिक्रिया दिने व्यवस्थालाई प्रभावकारी बनाइएको उल्लेख गर्दै शान्ति सुरक्षा कायम गर्न नागरिकको सहयोग पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो।

अर्यालले रुपन्देहीको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा सरकारी निकाय, सुरक्षा संयन्त्र, निजी क्षेत्र र नागरिकबीचको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो। प्रशासन तथा सुरक्षा व्यवस्थासम्बन्धी समस्या र चुनौती समाधानका लागि सम्बन्धित पक्षले रचनात्मक सुझाव तथा गुनासा राख्न सक्ने बताउँदै उहाँले प्रशासन सहकार्यका लागि तयार रहेको धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी रुपन्देहीका प्रहरी प्रमुख जनकबहादुर शाहीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताउनुभयो। सुरक्षा निकायबीच समन्वय र सूचनाको आदानप्रदानलाई प्रभावकारी बनाइएको उल्लेख गर्दै उहाँले रुपन्देहीलाई सुरक्षित पर्यटन गन्तव्यका रूपमा विकास गर्न पर्यटकलाई नेपालको कानुनी व्यवस्था र पालना गर्नुपर्ने नियमबारे जानकारी गराउनुपर्ने बताउनुभयो।

शाहीले पर्यटन प्रवर्द्धन तथा पर्यटकको सुरक्षाका लागि सञ्चारकर्मी, होटल व्यवसायी, पर्यटन व्यवसायी र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

सञ्जालका अध्यक्ष ज्ञवालीले चाडपर्वले समाजमा आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने बताउनुभयो। विभिन्न क्षेत्रका व्यक्तिहरूबीच भेटघाट, सम्बन्ध विस्तार तथा साझा समस्या पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयो। जिल्लाको आर्थिक, सामाजिक तथा व्यावसायिक विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख भन्सार अधिकृत प्रेमराज पोख्रेलले चाडपर्वका समयमा आर्थिक गतिविधि बढ्ने भएकाले व्यवसायीहरूले प्रचलित कानुनको पालना गर्दै पारदर्शी रूपमा व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो।

होटल व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सरकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उद्योगपति तथा समाजसेवी बसन्त रोक्काले पनि सामाजिक एकता र सहकार्यबाट समाजको समग्र विकास सम्भव हुने उल्लेख गर्दै उद्योगी, व्यवसायी तथा सामाजिक संघसंस्थाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।

 

सञ्जालका अध्यक्ष अनिल ज्ञवालीको अध्यक्षता तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले जिल्लाको शान्ति सुरक्षा, सामाजिक सद्भाव, आर्थिक विकास र पर्यटन प्रवर्द्धनका लागि सरकारी तथा निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताएका थिए।

प्रकाशित मिति: २०२६-१०-१५ , समय : २२:३४:०५ , २ घन्टा अगाडि