रुपन्देही खबर , ३ पटक हेरिएको
बुटवल, असोज २९
रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ स्थित नयाँ बसपार्कबाट प्रहरीले ३६ किलो चरेसजस्तो देखिने पदार्थसहित एक जना पुरुषलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पाल्पाको रामपुर नगरपालिका–९ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्दै आएका ५३ वर्षीय लुकबहादुर रखाललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार असोज २६ गते नयाँ बसपार्क क्षेत्रमा गरिएको कारबाहीका क्रममा रखालको साथबाट चरेसजस्तो देखिने ३६ किलो पदार्थ बरामद गरिएको थियो। लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा परिचालित प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका रखाललाई आवश्यक कानुनी कारबाहीका लागि रुपन्देही जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतले असोज २७ गते लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद थप गरेको छ। प्रहरीले बरामद पदार्थको वास्तविक पहिचान तथा घटनासँग सम्बन्धित अन्य विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: २०२६-१०-१५ , समय : ११:२८:३९ , २ घन्टा अगाडि