लुम्बिनी विश्व शान्ति मञ्चले हिरोसिमा दिवस मनाउने

rupanehi khabar , ३५२  पटक हेरिएको

भैरहवा, साउन १९

लुम्बिनी विश्व शान्ति मञ्चले विभिन्न कार्यक्रम गरेर हिरोसिमा दिवस मनाउने भएको छ । मञ्चले आगामी साउन २१ गते शनिबार रुपन्देहीमा उक्त दिवस मनाउने भएको हो ।

विश्वमा आणविक हतियारको प्रयोगलाई निरुत्साहित गर्न दवाव दिने उद्देश्यले दिवस मनाउन लागिएको मञ्चले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । जापानको हिरोसिमा शहरको प्रतीकस्वरुप लुम्बिनीमा २१ वटा कपुरका विरुवा रोप्ने कार्यक्रम रहेको मञ्चका संस्थापक तथा अध्यक्ष बासु गौतमले बताउनु भएको छ ।

त्यस्तै भैरहवामा १ सय ८ वटा ओलियन्डर फूलका विरुवा रोप्ने कार्यक्रम समेत रहेको गौतमले जानकारी दिनु भयो। दिवसको अवसरमा दुई जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उहाले बताउनु भयो ।

मुलुकभर बाघको संख्या वृद्वि भएकाले विश्व वन्यजन्तु कोषका प्रमुख डा।घनश्याम गुरुङलाई सम्मान गर्ने कार्यक्रम रहेको गौतमले बताउनु भएको छ । दिवसको दिन शनिबार साँझ भैरहवास्थित लुम्बिनी गेटमा मैनवत्ती प्रज्वलन गरिने उहाको भनाइ छ ।

मञ्चले सन् २०३० सम्म मुलुकभर १० लाख विरुवा रोप्ने लक्ष्य लिएको र अहिलेसम्म संस्थाले १४ हजार विरुवा रोपिसकेको गौतमले बताउनु भयो । रोपिएकामध्ये ९ हजार विरुवा हुर्केको उनले जानकारी दिनु भएको छ । वृक्षारोपणका साथै संरक्षण अभियानमा समेत लागेको उहाले बताउनु भयो । जलवायू परिवर्तनका कारण संकट आएकाले वातावरण संरक्षण गर्नेतर्फ अग्रसर भएको गौतमले बताउनु भयो ।

संस्थाले विगत ८ वर्षदेखि लुम्बिनीको विश्वभर प्रचार गर्दै आएको जनाएको छ । बौद्व धर्मावलम्बी रहेको मुलुकमा पुगेर लुम्बिनीको प्रवद्र्धन गरिरहेको उहाले बताउनु भयो। अध्यक्ष गौतमले् भन्नु भयो ‘लुम्बिनीको पर्यटन प्रबद्र्धन होस् भन्ने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाएका छौं ।’ सन २०२२ मा लुम्बिनीमा विश्व शान्ति महोत्सव आयोजना गरिएको बताउनु भएको छ । महोत्सवमा कलाकार मनिषा कोइराला, भैरहवाबाट पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने जजिरा एयर, सांगीतिक समूह सुरसुधा र अग्रज पत्रकार चेतन पन्तलाई विश्व शान्ति सम्मान प्रदान गरिएको जानकारी दिनु भयो ।

आगामी वर्षदेखि लुम्बिनी क्षेत्रमा कार्यरत रहेर बुद्व र लुम्बिनीको प्रबद्र्धनमा काम गर्ने एकजना पत्रकारलाई पनि शान्ति पुरस्कार प्रदान गर्नेबारे लुम्बिनी प्रेस क्लबसँग सहकार्य गर्नेबारे सहमति भएको गौतमले जानकारी दिनु भयो । लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले लुम्बिनी विश्व शान्ति मञ्चले विभिन्न महत्वपूर्ण कार्य गर्दै आएको बताउनु भएको छ ।

 

प्रकाशित मिति: २०२२-०८-०४ , समय : १०:५८:५० , २ वर्ष अगाडि