रुपन्देहीमा अझै पनि स्थानीय वासिन्दा खुला रुपमा शौच गर्दै

उर्मिला यादव यात्री , १००  पटक हेरिएको

भैरहवा, असार १५

रुपन्देही जिल्ला खुला दिशामुक्त क्षेत्र घोषणा भएको ८ वर्ष पुग्दै छ । तर अझै रुपन्देहीमा खुला रुपमा बाहिर शौच गर्ने नागरिक बाँकी छन । खुला शौच गर्ने अधिकांश मानिसका चर्पी नभएका होइनन्, उनीहरु बाध्यताले नभई पुरानो बानी कारण खुला रुपमा शौच गर्ने गर्छन् ।
एक कार्यक्रम बीच २०७५ पुस ६ गते रुपन्देही जिल्ला खुला दिशा मुक्त क्षेत्र घोषणा भएको थियो । रुपन्देहीको गैडहवा गाउँपालिका– ६ मा अवस्थित सूर्यपूरा सन्तघाटको वरिपरि त्यहाँका आमजनसमुदाय अझै पनि खुला रुपमा दिशा–पिसाब गर्छन् ।


यसरी खुला रुपमा दिसा–पिसाब गरी पर्यावरण दुषित बनाइरहेको जनगुनासो बढेपछि त्यहाँका अगुवाहरु मिलेर सरसफाई गरेका छन् । खुला रुपमा दिसा–पिसाब गर्न पाइँदैन भनी बोर्डसमेत राखिएको छ । बोर्डमा लेखिएको छ खुला दिसा मुक्त पालिका घोषणा भइसकेको क्षेत्रमा कोही–कसैले दिशा गरेको पाइएमा कानुन अनुसार जरिवाना, अटेर गरेमा ५ सय रुपैयाँ र दोस्रो पटक दिशा गरेको पाइएमा एक हजार रुपैयाँ जरिवाना तोकिएको छ ।तर, तिनलाई जरिवानाको डर देखिन्न । घरमा चर्पी हँुदा हुँदै नदी किनारमा दिसा गरेर फोहोर गर्दा पनि गैडहवा गाउँपालिका– ६ ले कुनै चासो देखाएको र पहलकदमी गरेको पाइँदैन ।

गैडहवा गाउँपालिका– ७ बलुहवाका स्थानस्य बलिराम केवटका अनुसार, सूर्यपूरा सन्तघाटको वरिपरि अझै पनि त्यहाँका स्थानीयहरु शौच गर्ने गर्छन् । त्यहाँ मसानघाट समेत भएकाले शव जलाउँदा होस् वा नुहाउँदा दुर्गन्धित भएर देख्नै नसक्ने अवस्था भएपछि केवटले २०८१ फागुन २३ गते आफ्नो नेतृत्वमा घाट वरिपरि रहेको दिसा पिसाब, लत्ताकपडा लगायत फोहोरको सरसफाई गराएका थिए ।


उनले घाटमा भएको फोहोर ब्यवस्थापन गर्न पटक–पटक पालिका र वडामा जाँदासमेत कुनै सुनुवाइ नभएपछि आफ्नै नेतृत्वमा नदी र मसानघाटको सरसफाई गरेको बताएका छन् । उनले अझै पनि ग्रामीण भेगमा शिक्षा र चेतनाको अभाव हुँदा समुदायस्तरमा सरसफाइबारे ज्ञान पुग्न नसकेको बताउँछन् । हुन त, गैडहवा गाउँपालिकाअन्तर्गत रहेको साबिक सूर्यपुरा गाबिसलाई २०७२ साल जेठ ३२ गते १ हजार २ सय १२ घरधुरीलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको थियो ।

तर, त्यो नारा पालिका र वडाको पानामा मात्र सीमित छन । रुपन्देहीकोे गैडहवा गाउँपालिका साबिक ४ वटा गाबिसहरु साडी, जगडा, बिष्णुपुरा र सुर्यपुरा मिलाएर बनेको गाउँपालिका हो । जसको जनसंख्या ५६ हजार १ सय ४९ रहेको छ । जसमा पुरुषको संख्या २७ हजार ८ सय ४७ र महिलाको संख्या २८ हजार ३ सय २ रहेको छ । ९ वटा वडा रहेको गैडहवा गाउँपालिकाको वडा नम्बर ६ मा त्यहाँका स्थानीय अझै पनि खुला रुपमा दिसा पिसाब गर्दै आएको जनगुनासो समेत बढदै गएको छ । गैडहवा गाउँपालिका– ७ का स्थानीय तथा समाजसेवी चन्द्रभुषण दुबेका अनुसार, गैडहवा गाउँपालिकामा रहेको सूर्यपुरा सन्तघाटमा मलामी जाँदा समेत नाक–मुख थुन्नुपर्ने अवस्था छ । उनी भन्छन्, ‘गैडहवा गाउँपालिका खुला दिसामुक्त गाउँपालिका घोषणा भएको यतिका वर्ष भइसक्दा समेत त्यहाँका स्थानीय अझै पनि बाहिरै दिसा–पिसाब गर्ने गर्छन् ।’ गैडहवा गाउँपालिका– ६ का वडाध्यक्ष राजकुमार लोधका अनुसार, शौचालय सबैको घरमा छ । खुला रुपमा दिसा–पिसाब नगर्न प्रशासनकै खटाइएको छ । जरिवाना लगाउँदा गाली सुन्नुपर्ने हुन्छ ।

यता गैडहवा गाउपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले वडा नम्बर ६ मा हुदै आएको खुला शौच नियन्त्रण गर्न पालिकाले पहल गरिरहेको बताउँछन् । उहाँले शिक्षा र जनचेतनाको अभावका कारण त्यहाँका स्थानीय बाहिर शौच गर्ने गरेको बताए । पौडेल भन्छन्, ‘आफैँ लौरो लिएर बस्नु भएन । जनताले नै अटेरी गरेपछि के गर्न सकिन्छ र ? प्रहरी प्रशासनबाट समेत मानिस खटाइयो, तर समस्या जस्ताको त्यस्तै छ ।’
यता खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको रुपन्देही जिल्लाका ग्रामीण क्षेत्रलगायत नदीसँग जोडिएका पालिका तथा ठाउँहरु अझै पनि खुला दिसा–पिसाबबाट अछुतो हुन सकेको छैन । त्यहाँका स्थानीय नदी तथा खोला वरिपरि नै दिसा–पिसाब गर्ने गर्छन् ।
रुपन्देहीको ओमसतिया गाउँपालिका– ५ गौरी, सिलौटिया, सिसहनियालगायत बेतवलिया, बडसारी, रोहिणी गाउपालिका– २ अन्तर्गत पर्ने खोलानालासँग जोडिएका गाउँहरुमा स्थानीयहरु रोहिणी नदी किनारमा अझै खुला ठाउँमा दिसा–पिसाब गर्छन् ।
ओमसतिया गाउँपालिका– ५ का वडाध्यक्ष मदनप्रसाद पोखरेलले खुला रुपमा दिशापिसाब नगर्न वडाले अनेक तरिकाबाट पहल गरेपनि कति खेर को जान्छ भनी निगरानी गर्न गाह्रो भएको बताए ।

रोहिणी नदी भगवान गौतम बुद्धसँग जोडिएको एक ऐतिहासिक नदी भएकाले मेला पर्व हुदा समेत खुला रुपमा शौच गर्दा समेत रोक्न नसकिएको बताए । वडाध्यक्ष पोखरेलले भने, ‘यो विषय सबैलाई थाहा भएको कुरा हो । बाहिर शौच गर्दा रोग लाग्ने र फैलन्छन् भन्ने बुझेकै छन् । वडामा सबैको घरमा शौचालय छ तर बाहिर जान्छन् ।’ कतिपय स्थानहरूमा सञ्चालन भएका शौचालयहरू प्रयोग नभएको वा अन्य प्रयोगका लागि मात्र सीमित गरिएको देखिन्छ (जस्तैः भाँडा राख्ने, बन्द रहने आदि) । ग्रामीण भेगमा अझै पनि जनचेतनाको कमी, शौचालयको पहुँच नहुनु, वा व्यवस्थित पानीको अभावले गाउँहरूमा खुला दिशा पिसाब गर्ने प्रचलन कायम छ ।

खानेपानी तथा सरसफाई कार्यालय रुपन्देहीका प्रमुख राजकुमार चौधरीका अनुसार, रुपन्देही जिल्लालाई २०७५ साल पौष ६ गते खुला दिशामुक्त क्षेत्र घोषणा गर्दा जिल्लाको सबै घरधुरी अर्थात् १ लाख ६३ हजार ८ सय ३५ घरधुरीमा शौचालय थियो । यतिखेर लगभग २ लाख ५६ हजार ६ सय घर धुरीमा शौचालय बनेका छन ।

चौधरीका अनुसार, रुपन्देही खुला दिशामुक्त क्षेत्र घोषणा भएपछि यसको काम स्थानीय सरकारले गर्दै आएको र यसमा खानेपानी तथा सरसफाई कार्यालयले समन्वयकारी भुमिका निर्वाह गर्दै आएको छ । पछिल्लो समय यसअन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पानी आपूर्तिलाई सुनिश्चित गर्न, सरसफाईका कार्यक्रमहरू सञ्चालन गर्न, तथा सरसफार्ईसम्बन्धी जनचेतना फैलाउन परियोजनाहरूमा काम गरिरहेको छ । पछिल्लो समय अझै पनि मानिसहरू खुला रुपमा दिशा–पिसाब गर्दै आएका छन् । ग्रामीण क्षेत्रमा शौचालय त बनाइयो, तर यसको मर्मत नहुनाले प्रयोग गर्न लायक नै छैनन् । खासगरी बजार, चोक, बसपार्क, मेलाजात्रा स्थलहरूमा अझै पनि सार्वजनिक शौचालयको अभाव छ । जसले गर्दा पनि मानिस बाहिर नै शौच गर्न बाध्य छन् ।

ग्रामीण क्षेत्रमा अझै पनि गरीबी र पहुँच अभावका कारण विपन्न समुदायले बनाएको शौचालय टिकाउ र मर्मत गर्न सक्ने अवस्था पनि छैन ।
अपांगता भएका वा वृद्ध व्यक्तिका लागि चर्पीको सहज पहुँच नहुनु, स्थानीय तहको निगरानीको कमी, वडा वा गाउँ तहमा स्वच्छता समितिको सक्रियता घटनुलगायतका कारण पनि मानिसहरु खुला रुपमा दिशा पिसाब गर्दै आएका छन् ।

प्रकाशित मिति: २०२५-०६-२९ , समय : १७:४१:४४ , ७ घन्टा अगाडि