उर्मिला यादव यात्री , ११६ पटक हेरिएको
भैरहवा, चैत १४
रुपन्देहीको सिद्धार्थनगर–७, भैरहवास्थित सिद्धार्थ एकेडेमीको २१ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्राचार्य अमित यादवको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर –७ का वडाध्यक्ष दामोदर शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा शुक्रबार एक कार्यक्रमका बिच कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडाध्यक्ष दामोदर घिमिरेले शिक्षा नै राष्ट्र विकासको प्रमुख आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा बिना समृद्ध समाजको कल्पना गर्न नसकिने बताउनुभएको छ ।

उहाँले सामुदायिक र संस्थागत विद्यालयबीच देखिएको गुणस्तर अन्तरलाई कम गर्न स्थानीय सरकार, विद्यालय प्रशासन, शिक्षक, अभिभावक र समुदायबीच समन्वय अपरिहार्य रहेको बताउनु भयो । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै स्थानीय तहले भौतिक पूर्वाधार निर्माण, प्रविधिमैत्री शिक्षण प्रणालीको विकास र दक्ष जनशक्तिको व्यवस्थापनमा जोड दिइरहेको जानकारी दिनुभयो।

उहाँले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक ज्ञान, सीपमूलक शिक्षा तथा नैतिक मूल्य–मान्यतासहितको शिक्षामा जोड दिनुपर्नेमा विशेष ध्यानाकर्षण गराउनुभयो। “विद्यार्थीको सबैभन्दा ठूलो गहना अनुशासन हो,” भन्दै उहाँले पढाइसँगै अनुशासन र संस्कार विकास गर्न विद्यालय र अभिभावक दुवै उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो। बालबालिका गलत संगतमा पर्न सक्ने भएकाले अभिभावकले पनि निरन्तर निगरानी र मार्गदर्शन गर्नुपर्ने उहाँको भनाइ थियो ।

यस्तै गरी कार्यक्रममा बोल्दै बिद्यालयका प्राचार्य अमित यादवले विद्यालयले विगत २१ वर्षदेखि निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनु भयो । उहाले विद्यालयको उपलब्धिमा शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्य मुख्य आधार रहेको जोड दिनु भयो । उहाँले पछिल्लो समय शिक्षण पद्धतिमा आएको परिवर्तनसँगै विद्यालयलाई समयानुकूल बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले आगामी दिनमा विद्यालयलाई अझ आधुनिक, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको जानकारी दिँदै डिजिटल शिक्षण प्रणालीको विस्तार, दक्ष तथा अनुभवी शिक्षकको व्यवस्थापन, र विद्यार्थीमैत्री वातावरण निर्माणमा विशेष जोड दिइने बताउनुभयो। साथै विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप, अनुशासन, नेतृत्व विकास तथा नैतिक शिक्षामा समेत उत्तिकै प्राथमिकता दिएको स्पष्ट पार्नुभयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै समाजसेवी भरत केसीले शिक्षा नै सभ्य, सक्षम र जिम्मेवार नागरिक निर्माणको आधार भएको बताउनु भएको छ । उहाँले विद्यालयले केवल परीक्षा केन्द्रित शिक्षा नभई जीवनोपयोगी ज्ञान र सीप प्रदान गर्नुपर्नेमा जोड दिँदै अभिभावक र समुदायको सक्रिय सहभागिताले मात्रै शिक्षामा गुणस्तर कायम रहन सक्ने धारणा व्यक्त गर्नुभयो ।

उहाले सिद्धार्थ एकेडेमी सिद्धार्थनगर नगरपालिकाको शान भएको बताउनु भएको छ । उहाले बिद्यालयको रहनसहन , बोलचाली, बिद्यार्थीमा संस्कार लगायत धेरै कुरामा सिद्धार्थ एकेडेमी अगाडी रहेको उल्लेख गर्दै सिद्धार्थ एकेडेमी सिद्धार्थनगर नगरपालिकाको शिक्षा क्षेत्रको कोहिनुर भएको जोड दिनु भयो ।

यस्तै गरी कार्यक्रममा विद्यालयका कोर्डिनेटर अमृत गुरुङले विद्यालयको शैक्षिक गतिविधि तथा व्यवस्थापन पक्षबारे प्रकाश पार्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रमका शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा ल्याउने, अनुशासित, नियमित तथा अतिरिक्त क्रियाकलापमा सक्रिय विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो । भने विद्यालयको शैक्षिक बिकासमा अहोरात्र खटी योगदान गरेका शिक्षकहरुलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो । भने विद्यालयका शिक्षक, कर्मचारी, तथा समाजसेवी लगायतलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले नृत्य, गीत, नाटक लगायतका सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
मोर्डन पब्लिक स्कुल कक्षा ८ को बिद्यार्थी आयुषी चौरासिया, कक्षा ९ को बिद्यार्थी प्रतिज्ञा बनिया र कक्षा ९ कै बिद्यार्थी आयुषा बि.क.ले कार्यक्रम संचालन गर्नु भएको कार्यक्रममा मोर्डन पब्लिक स्कुलका बरिष्ठ सल्लाहकार तथा ब्राइट स्टार इंगलिस बोडिंग स्कुल सिनपा १ रानीगाउका प्राचार्य एल.बि, रौतार, मोर्डन पब्लिक स्कुलका प्रबन्ध निर्देशक तथा ब्राइट स्टार इंगलिस बोडिंग स्कुलका सहप्राचार्य राहुल यादव, मोडर्न पब्लिक स्कुल भैरहवाका प्राचार्य मुकेश यादव, ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुलका को–अर्डिनेटर नारायण कश्यप, युनिक पब्लिक बोर्डिङ स्कुलको अध्यक्ष ओमप्रकाश यादव, युनिक पब्लिक बोर्डिङ स्कुलका प्राचार्य मनोज जिसी,अनामिका जब लिंकका प्रबन्धक अनामिका यादव बिद्यालयको एकाउन्टेन्ट गङ्गा चौधरी, शेयर सदस्य चन्द्रेश बनिया, ओमसाइ कम्प्युटरका प्रबन्धक शत्रुधन गुप्ता, लगायत बिद्यार्थी, बिद्यालयका शिक्षक ,अभिभावक, शेयर सदस्य लगायत सरोकारवाला निकायका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।



प्रकाशित मिति: २०२६-०३-२८ , समय : १०:२९:५७ , २ घन्टा अगाडि