रुपन्देही खबर , ३७ पटक हेरिएको
भैरहवा, कात्तिक २६
रुपन्देहीमा पटका पड्काउने तथा आतिशबाजी गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कञ्चन गाउँपालिकामा देउसी–भैलो खेल्ने क्रममा पटका पड्काउँदा एक जना घाइते भएपछि प्रहरीले घटनामा संलग्न दुई जनासहित जिल्लाका विभिन्न स्थानबाट थप पाँच जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गत कात्तिक २३ गते साँझ करिब ६ः५० बजे रुपन्देहीको कञ्चन गाउँपालिका–१ स्थित हात्तीबजार चोकमा पटका पड्काउँदा एक जना व्यक्ति घाइते भएका थिए। कपिलवस्तुको बाणगंगा नगरपालिका–२ स्थित लालिगुराँस युवा क्लबले भैलो खेलिरहेको अवस्थामा सोही ठाउँका कृष्ण परियार र आर्यन परियारले पटका पड्काउँदा उक्त घटना भएको प्रहरीले जनाएको छ। घाइतेको उपचार भइरहेको छ।
घटनापछि प्रहरीले पटका पड्काउने कार्यमा संलग्न रहेको आरोपमा कृष्ण र आर्यनलाई नियन्त्रणमा लिएको थियो। यसैगरी, रुपन्देहीका विभिन्न स्थानमा पटका पड्काउने तथा आतिशबाजी गर्ने थप पाँच जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्ने अन्यमा रोहिणी गाउँपालिका–३ धकधईका किसन मिश्र, रोहिणी गाउँपालिका–४ का पञ्चम हरिजन, रोहिणी गाउँपालिका–१ का अंगत कुमार कहार, सिद्धार्थनगर नगरपालिका–४ का हेमसल बरई र बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका सन्देश परियार रहेका छन्।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर पटका पड्काउने तथा आतिशबाजीसम्बन्धी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। चाडपर्वका समयमा पटका पड्काउँदा आगलागी, दुर्घटना तथा मानवीय क्षति हुन सक्ने भएकाले यस्ता गतिविधि नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित मिति: २०२६-११-१२ , समय : ११:५७:२१ , ३५ मिनेटutes अगाडि