रुपन्देही खबर , २४ पटक हेरिएको
काठमाण्डौ,कात्तिक २४
प्रजातन्त्र पुनः स्थापनाका लागि २०४६ सालमा भएको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गर्नुभएको थियो ।
१९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई उहाँले राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो । तर राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायत नेतालाई तत्कालीन सरकारले जेलमा राखेको थियो । २००७ सालअघि जेल फोरेर भाग्न सफल उहाँ तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो
जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ । २०१५ सालमा भएको पहिलो चुनावपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दी गृहमा कारावास जीवन बिताउनुभयो । २०२५ सालमा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो ।
२०३३ सालमा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाको विरुद्धमा सक्रिय रहनुभयो । गणेशमान सिंहको जयन्तीका अवसरमा आज नेपाली काँग्रेसका दुवै समूह र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्था, गणेशमान सिंह अध्ययन प्रतिष्ठानलगायतले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएका छन् ।
प्रकाशित मिति: २०२६-११-१० , समय : १२:१७:१६ , १६ मिनेटutes अगाडि