रुपन्देही खबर , २९ पटक हेरिएको
भैरहवा, कात्तिक २६
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डी (मिलनचोक) मा धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित विशाल माँ भगवती रात्री जागरण सम्पन्न भएको छ। श्री श्री लक्ष्मी पूजा समिति, मिलनचोक गल्लामण्डी भैरहवाको आयोजनामा बुधबार साँझ ७ बजेदेखि रात्री जागरण आयोजना गरिएको हो।
रात्री जागरणमा भारतबाट आएका सन्नी जगरता परिवारले विशेष धार्मिक प्रस्तुति दिएका थिए। त्यसैगरी भारतको प्रयागराजस्थित साहिल एण्ड आशिष झाँकी ग्रुप र कानपुरको अघोरी झाँकी ग्रुपले विभिन्न धार्मिक झाँकी प्रस्तुत गरेका थिए। कार्यक्रममा भक्तजनका लागि भण्डारासमेत आयोजना गरिएको थियो।
समितिका अध्यक्ष अजय सोनीका अनुसार धार्मिक आस्था अभिवृद्धि तथा मौलिक धर्म–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा युनिक साउण्ड र जगदम्बा लाइटले ध्वनि, प्रकाश तथा टेन्ट व्यवस्थापनको जिम्मेवारी लिएका थिए।
युवा समाजसेवी तालकेश्वर कान्दुले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि स्थानीयको सहयोग र सहभागितामा रात्री जागरण सम्पन्न भएको बताउनुभयो। उहाँका अनुसार गल्लामण्डीमा पहिलोपटक वि.सं. २०५९ सालदेखि रात्री जागरण आयोजना गर्न थालिएको हो।
समितिका सल्लाहकार आनन्दप्रसाद गुप्ताले धर्म तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय युवाहरूको अग्रसरतामा हरेक वर्ष कार्यक्रम आयोजना हुँदै आएको बताउनुभयो। उहाँले धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन स्थानीयवासी, समाजसेवी र सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
स्थानीय स्तरमा धार्मिक आस्था र सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले आयोजना हुँदै आएको रात्री जागरणले गल्लामण्डीको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप सक्रिय बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ।
प्रकाशित मिति: २०२६-११-१२ , समय : १५:२८:२१ , १८ मिनेटutes अगाडि