अधिकांश मदरसा चन्दामा चल्दै , शिक्षक दरबन्दी शुन्य

उर्मिला यादव यात्री , १३०  पटक हेरिएको

 

भैरहवा, असार १९

रुपन्देहीको लुम्बिनी सांकृतिक नगरपालिकाको वडा नम्बर १३ ओडवलियामा अवस्थित मदरसा तालिमुन कुरान ओआइ सुन्नहा स्थापना भएको २६ बर्ष भन्दा बढी भयो । तर यसको बिकासमा नत स्थानिय तहको ध्यान पुग्न सकेको छ नत प्रदेश सरकारको नै । पछिल्लो समय प्रदेश सरकारले धार्मिक तथा मदरसा बिद्यालयलाई भवन निमार्ण , फनिर्चर लगायत बिषय योजनाहरुमा समाबेश गर्दै लगानी गर्दै आएको छ तर त्यो पनि मदरसामा नपुग अवस्थामा छ ।

लुम्बिनी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय शिक्षा तथा सामाजिक बिकास निर्देशनालय ले आ.ब. २०७९÷ ८० मा यस मदरसाको लागी २ कोठे भवन निमार्णका लागी २० लाख. बजेट बिनियोजन गरेसंगै अहिले त्यहा २ कोठे भवन त निमार्ण भयो तर बाकी समस्या भने जस्ताको त्यस्तै छ । कक्षा ४ सम्म मात्र अध्यापन हुने मदरसा तालिमुन कुरान ओआइ सुन्नहामा ७० जना बिद्यार्थी छन । भने ३ जना शिक्षक कार्यरत छन । जसमा बालबिकासमा १ जना, अनुदानमा १ र गाउबाट चन्दा संकलन गरी राखिएको शिक्षक १ जना रहेको मदरसा तालिमुन कुरान ओआइ सुन्नहाका प्रधानाध्यापक मुस्तफा मुसलमानले बताए । उनी भन्छन मदरसा बिद्यालयमा समस्या तमाम छन तर यसको बिकासमा कसैको ध्यान पुग्न सकेको छैन । उनी थपे यस मदरसामा पर्खाल समेत नहुदा असुरक्षाको अनुभुति भने सधै हुने गरेको छ । उनी भन्छन शिक्षकले समेत समयमा तलब पाउदैनन । मदरसामा एकदमै समस्या छ । दरबन्दी छैन । कार्यालय सहयोगी समेत छैनन । सरकारले योजनाको नाममा हडडी फाल्ने काम गरेको बताए ।

यता रुपन्देहीकै ओमसतिया गाउपालिका वडा नम्बर ४ पननी अवस्थित मदरसा कादरिया अहले सुन्नत मिसबाहुल ओलम पननी बि.स. २०६० सालमा स्थापना भएको हो । ६६ जना बिद्यार्थी रहेको यस मदरसामा ५ जना शिक्षक छन । जसमा संघिय सरकार र गाउपालिकाको अनुदानमा बालबिकास कोटामा १ जनाको दरबन्दी छ भने बाकी भने ४ जना शिक्षकलाई बिभिन्न चन्दाबाट तलब दिदै आएको मदरसा कादरिया अहले सुन्नत मिसबाहुल ओलम पननीका प्रधानाध्यापक मोहम्मद फैजुल्लाह मुसलमानले बताए ।

भौतिक पुवार्धार काम चलाउ भए पनि त्यस मदरसामा अझै पनि ब्यवस्थित शौचालयको अभाव छ । मदरसामा पर्खाल नहुला पटक पटक चोरी समेत हुदै आएको छ । यस बिषयमा लुम्बिनी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय शिक्षा तथा सामाजिक बिकास निर्देशनालयमा बिद्यालयको पर्खालको लागी बजेट माग गरे पनि त्यो नपाएको मदरसा कादरिया अहले सुन्नत मिसबाहुल ओलम पननीका प्रधानाध्यापक मोहम्मद फैजुल्लाह मुसलमानले बताए ।

मुसलमानका अनुसार २०७९÷८० मा लुम्बिनी प्रदेश सरकारले मदरसामा फनिर्चर ब्यवस्थापन गर्नका लागी ८० हजार रुपैया बजेट छुटयाएको थियो । तर त्यसपछि मदरसाको लागी प्रत्येक बर्ष बजेट माग गरे पनि सुनुवाई नभएको उनको गुनासो छ । मदरसामा मुख्य समस्या नै शिक्षकको दरबन्दी नहुनु हो । गाउघरबाट चन्दा माग गरी बिद्यालयका शिक्षकहरुलाई तलब दिन पनि समस्या छ फैजुल्लाह भन्छन । स्थानिय निकायले समेत मदरसामा लगानी गरेको अवस्था छैन ।

मदरसाको चौतर्फि विकासका लागि पछिल्लो समय लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले आवश्यक सहयोग गर्दै आएको छ । आ.ब. २०८०÷८१ मा लुम्बिनी प्रदेश सरकारले भौतिक संरचना निमार्ण ,पर्खाल निमार्ण , टायल, सिसिटिभी जडान लगायतका शिर्षकमा १२ वटा मदरसाका लागी बजेट छुटयाएको बार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ भने १ वटा मदरसाको नाम फरक र अर्काे मदरसाको जिल्ला फरक भएकोले काम नभएको समेत लुम्बिनी प्रदेश सरकारले प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख छ ।

मदरसा, उर्दु अरबी भाषा, ईस्लाम धर्म र यसका कानुनी प्रावधान तथा संस्कारका विषयमा अध्ययन गराउने विद्यालय रहेपनि राज्यले यस्ता धार्मिक विद्यालयहरुलाई पनि मुलधारमा ल्याई व्यस्थित गर्दै उर्दुअरबी भाषा र धार्मिक ज्ञान संगै मान्छेको जिवनमा आवश्यक शिक्षा, अंग्रेजी, विज्ञान, गणित, सामाजिक र नेपाली जस्ता विषयहरु थपेको छ । धार्मिक र व्यवहारिक शिक्षालाई संगसंगै लैजाने उद्देश्यले राज्यले नेपालका मदरसाहरुलाई पनि क्रमशः कक्षागत अनुमति दिदै अध्यापन गराउदै आएको छ ।

रुपन्देहीमा जिल्लामा १३९ वटा मदरसा दर्ता छन । जसमा २१ हजार ३ सय ६८ जना अध्ययनरत छन । जसमा छात्राको संख्या १२ हजार सात छ भने छात्रको संख्या ९ हजार ३ सय ६१ छ । भने दर्ता बिना संचालन भएका मदरसाको भने तथ्यांक नै छैन । मदरसामा अहिले स्थानिय तहले दरबन्दी गर्ने प्रावधान भए पनि यसमा स्थानिय तहको ध्यान भने पुग्न सकेको छैन । अधिकांश मदरसा विद्यालय निजी सहयोग र स्थानीय दानमा निर्भर छन्। सरकारी तर्फबाट प्रष्ट बजेट व्यवस्थापन वा अनुदान प्राप्त गर्ने व्यवस्था कमजोर भएकोले गर्दा पनि धेरैजसो मदरसा विद्यालयमा स्थायी शिक्षक दरबन्दी नै छैन। शिक्षकहरू अस्थायी वा स्वयंसेवी रूपमा कार्यरत छन्, जसले शिक्षा गुणस्तरमा समेत असर परिरहेको छ । मदरसामा आधिकारिक तालिम नपाएका शिक्षकहरूद्वारा अध्यापन हुने भएकाले पठनपाठनको स्तर समेत कमजोर देखिएको छ भने पर्याप्त कक्षा कोठा, शौचालय, खानेपानी, पुस्तकालय जस्ता आधारभूत संरचना समेत अभावको अवस्थामा छन ।

धार्मिक विद्यालयमा लुम्बिनी प्रदेशकै नमुना मदरसाको रुपमा पनि लिइन्छ। यस विद्यालयमा मुस्लिम समुदायका बालबालिकाले मात्रै अध्ययन गर्ने गर्दछन। नेपाल सरकारका अनिवार्य सबै विषयसहित उर्दू, अरेबिक, दिनियाँत (नैतिक शिक्षा), कुरान, विषय पठनपाठन हुने गरेको छ। अन्य विद्यालयमा शनिबार बिदा हुने गरेकोमा मदरसामा शुक्रबार हप्तामा एक दिन बिदा दिने गरिएको छ।

मुस्लिम विद्यार्थीलाई छात्रावृत्ति र छात्रावासको समेत निर्माण गर्न प्रदेश सरकारले लगानी गरेको छ । प्रदेश सरकारले मुस्लिम समुदायलाई निजामती क्षेत्रमा आकर्षीत गर्न सात प्रतिशत आरक्षणको व्यवस्था समेत गरेको छ भने ‘प्रदेश सरकारले मुस्लिम समुदायको सशक्तिकरणको लागि ध्यान दिएको छ । नीति, नियम तथा कार्यक्रमबाट मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको छ ।

सरकार र स्थानीय तहको तर्फबाट स्पष्ट नीति र बजेटको व्यवस्था मिलाउन सके मात्र मदरसाको शैक्षिक अवस्था सुधार गर्न सकिन्छ भने मदरसालाई पनि नियमित विद्यालय सरह दर्ता गराई अनुगमन गर्ने, शिक्षक दरबन्दी सिर्जना गरी तालिमको व्यवस्था गर्ने ,मदरसा विद्यार्थीलाई पनि अन्य सरकारी सुविधामा पहुँच सुनिश्चित गर्नु पर्ने प्रमुख आवश्यकताको रुपमा देखिएको छ ।

 

 

 

प्रकाशित मिति: २०२५-०७-०३ , समय : १९:१८:१० , ७ घन्टा अगाडि