यसपालि ६ दिनको यमपञ्चक

रुपन्देही खबर , ८०  पटक हेरिएको

काठमाण्डाै,कात्तिक १

उज्यालो र उमङ्गको रमाइलो चाड दीपावली आजदेखि शुरू भएको छ । सामान्यतः ५ दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले १ दिन बढेर ६ दिन भएको हो । मधेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्व मैथिल परम्परानुसार आज ‘धनतेरस’ बाट शुरू भएर आउँदाे बिहीवार ‘भैयादुज’ मनाइएसँगै सम्पन्न हुनेछ ।

नेपाली बोलीमा तिहार भनिने यो पर्व पाँच दिनको हुँदा यसलाई ‘यमपञ्चक’ भनिँदै आइएको छ । यसपालि बितेको शारदीय नवरात्रजस्तै यमपञ्चक १ दिन बढेको हो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मिथिलामा दीपावली भनिने ‘यमपञ्चक’ यसपालि तिथिको भोग घटबढले ६ दिन भएको हो । यसपालिको शारदीय नवरात्र पनि १० दिनको भएको थियो ।

महोत्तरीसहित मधेशका प्राचीन मिथिला क्षेत्रमा चाडपर्व र तिथिको टुङ्गो मिथिला पञ्चाङ्गम् र विद्यापति पञ्चाङ्गम्बाट निधो गरिन्छ । यमपञ्चकको पहिलो दिन धनतेरस कात्तिक कृष्ण त्रयोदशीको गोधुली साँझपछिको रात्रिभोगको समयमा मनाउने चलन रहेको छ । यसैले आज दिउँसाे १ बजेर २३ मिनेटपछि त्रयोदशी शुरू भई भोलि आइतवार दिउँसो १ बजेर ५६ मिनेटसम्म रहने पञ्चाङ्गमा उल्लेख रहेको पण्डित महेशकुमार झा बताउनुहुन्छ ।

‘त्रयोदशीको साँझ र रात एकैदिन परेको हुँदा धनतेरस आजै मनाइन्छ, झा भन्नुहुन्छ, तर त्रयोदशी तिथिमै गरिने दीपावली पर्वको कागपूजा भने भोलि आइतवार मध्याह्नसम्म गरिनुपर्छ ।’ धनतेरस सन्ध्याकालसँगै रात्रिमा र कागपूजा दिनमा मनाउने चलनले यस्तो भएको उहाँको कथन छ ।

यसैगरी दीपावली पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजा पर्सि साेमवार साँझ नै गरिने छ । त्यस दिन सूर्योदय चतुर्दशी तिथि भए पनि दिउँसो ३ बज्नुअघि औँशी शुरू हुने हुँदा लक्ष्मीपूजा त्यही दिन गरिने पञ्चाङ्गले निर्देश गरेको झाको भनाइ छ ।

दीपावली पर्वका धनतेरस र लक्ष्मीपूजा सन्ध्याकालमा शुरू गरिन्छ । यस्तै यसै पर्वको गौपूजा, गोधनपूजा र भैयादुज दिनमा गरिने चलन छ । औँशीको रातमा गरिने लक्ष्मीपूजा सोमवार गरिए पनि त्यही तिथिमा गरिने गौपूजा भने मङ्गलवार बिहान गरिने झाले जानकारी दिनुभयो । मैथिल परम्पराको दीपावली पर्वको गोधनपूजन कात्तिक शुक्ल प्रतिपदा र भैयादुज द्वितीया तिथिमा गरिन्छन् । यस अनुसार यसपालि गोधन बुधवार र भैयादुज बिहीवार सम्पन्न गरिनुपर्ने उहाँले बताउनुभयो ।

सामान्यतः शारदीय नवरात्रको तिथिको भोग घटबढको प्रभाव त्यसलगत्तैको दीपावली पर्वमा पनि पर्ने गरेको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ । ‘यसपालि शारदीय नवरात्र चौथी (चतुर्थी) तिथि २ दिन भोगमा रहँदा १० दिनको परेको थियो’, उहाँ भन्नुहुन्छ, ‘यसैगरी यमपञ्चक तिथिको भोग घटबढले ६ दिनको भएको छ ।’ दीपावली पर्व देशभर उमङ्ग र उत्साहसाथ मनाउने परम्परा छ । खासगरी पहिलो दिनको धनतेरस र लक्ष्मीपूजा मिथिलामा विशेष मानिन्छन् ।

प्रकाशित मिति: २०२५-१०-१८ , समय : २०:०८:२९ , ७ घन्टा अगाडि