रुपन्देही खबर , ९० पटक हेरिएको

मणिग्राम, साउन २५
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आइतबार दुई छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका छन् । स्नातक तहका विद्यार्थीका लागि लोकसेवा आयोग अभिमुखीकरण कार्यक्रम र १२ कक्षा उत्तीर्ण विद्यार्थीका लागि शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएका हुन् । क्याम्पसको विद्यार्थी परामर्श तथा सहयोग समिति र मणिग्रामस्थित गुरूकुल लर्निङ् सेण्टरको सहकार्यमा स्नातक तहका विद्यार्थीका लागि लोकसेवा आयोग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको रोजगार एकाईका नम्रता पाण्डेले जानकारी दिनुभएको छ ।
सो अवसरमा गुरूकुल लर्निङ् सेण्टरका कृष्ण श्रेष्ठ, मनिष भूसाल, मदन थापा मगर र संजीवकुमार बुछारले सरकारी सेवा प्रवेश, संस्थागत तथा निजी कम्पनी लगायत विभिन्न रोजगारीका अवसरबारे अभिमुखीकरण गर्नुभएको थियो । क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले पढ्दै कमाउँदैको अवधारणा लागू गर्न र विद्यार्थीलाई सशक्त बनाउन कार्यक्रम गरिएको बताउनुभयो । विद्यार्थी परामर्श तथा सहयोग समिति संयोजक भिमलाल घिमिरेको अध्यक्षतामा भएको अभिमुखीकरणमा बी.बी.एस., बी.एड. र बी.ए.का विद्यार्थीको सहभागिता रहेको थियो ।
यसैगरी कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीका लागि शुभकामना तथा सम्मान कार्यक्रम आज नै (आइतबार) सम्पन्न भएको छ । गणेश पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले निकटतम अभिभावकत्व सहित स्नातक तह अध्यापनका लागि राममणि क्याम्पस केन्द्रित रहेको बताउनुभयो ।
सहायक क्याम्पस प्रमुख प्रमुख खुमकान्त पाण्डेयले बी.बी.एस. बी.एड. र बी.ए.मा बहुविषय रोजेर अध्ययन गर्न राममणि उपयुक्त हुने भन्दै प्रशस्त मात्रामा उपलब्ध छात्रवृत्तिका अवसरहरू सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा उपप्राध्यापक नोवराज तिवारी, अरूण कुमार साहनी, वेदप्रसाद न्यौपाने लगायतले सुदृढ भविष्यका लागि राममणि नै उचित हुने उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: २०२५-०८-१० , समय : २१:५६:१३ , ३ दिन अगाडि