मानव बेचबिखन नियन्त्रणमा राष्ट्रिय प्रयाससँगै अन्तर्राष्ट्रिय सहकार्य आवश्यक : मन्त्री घिमिरे

रुपन्देही खबर , ३२  पटक हेरिएको

भैरहवा, असोज ९ 

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजी प्रसाद घिमिरेले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानुन र नीति निर्माण मात्र पर्याप्त नभएकाले राष्ट्रिय प्रयासलाई एकीकृत गर्दै अन्तर्राष्ट्रियस्तरमा समेत सहकार्य गर्नुपर्ने बताउनुभएको छ। मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशको आयोजनामा भदौ २० गते भैरहवामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले मानव बेचबिखनलाई समाज र मानवतामाथिकै गम्भीर अपराधका रूपमा लिनुपर्ने बताउनुभयो।

उहाँले मानव बेचबिखन तथा ओसारपसारलाई मानवताको गम्भीर कलंकको संज्ञा दिँदै यसको नियन्त्रणका लागि सरकार, नागरिक समाज, गैरसरकारी संस्था, संघसंस्था र समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो।

‘कानुन आफैंमा अन्तिम समाधान होइन। राष्ट्रिय रूपमा नीति, कानुन र कार्ययोजना बनाएर अघि बढ्दा पनि यो समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले राष्ट्रिय प्रयासलाई संगठित र एकीकृत गर्दै अन्तर्राष्ट्रिय समुदायसँग समेत सहकार्य गरेर अघि बढ्न आवश्यक छ।’

मन्त्री घिमिरेले नेपालले मानव बेचबिखन तथा विभिन्न प्रकारका शोषण अन्त्यका लागि विगतदेखि नै कानुनी, नीतिगत र संस्थागत प्रयास गर्दै आएको उल्लेख गर्नुभयो। कमैया तथा हलिया प्रथा अन्त्यका लागि राज्यले अघि बढाएका कार्यक्रमलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले सामाजिक शोषण र मानव अधिकारविरुद्धका अभ्यास नियन्त्रणमा राज्य प्रतिबद्ध रहेको बताउनुभयो।

नेपालले मानव बेचबिखन नियन्त्रणका विषयमा अन्तर्राष्ट्रिय प्रतिबद्धता व्यक्त गर्नुका साथै राष्ट्रिय कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याएको भए पनि समस्या पूर्ण रूपमा अन्त्य हुन नसकेको उहाँको भनाइ थियो।

मानव बेचबिखन नेपालमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय समस्या भएको उल्लेख गर्दै मन्त्री घिमिरेले अपराधमा संलग्न समूहको सञ्जाल सीमापारसम्म फैलिएको बताउनुभयो। त्यसैले राष्ट्रिय प्रयाससँगै अन्तर्राष्ट्रिय निकाय र समुदायबीच समन्वय आवश्यक रहेको उहाँले जोड दिनुभयो।

उहाँले मानव बेचबिखन नियन्त्रणका लागि कानुनी कारबाहीसँगै जोखिममा रहेका समुदायको आर्थिक तथा सामाजिक अवस्था सुधार, जनचेतना अभिवृद्धि, पीडितको संरक्षण तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

कार्यक्रममा शिक्षा तथा सामाजिक विकास निर्देशनालयका महानिर्देशक दिवाकर भण्डारीले स्वागत मन्तव्य रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भगवती अधिकारी, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, सुनवल नगरपालिकाका प्रमुख विमला अर्याल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजन, सिद्धार्थनगर नगरपालिकाकी नगर प्रमुख उमा अधिकारी तथा सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। भने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले लुम्बिनी प्रदेशमा मानव बेचबिखन मुद्धा दर्ताको त्रिबर्षिय अवस्थाबारे सहजीकरण गर्नु भएको थियो ।

शिक्षा तथा सामाजिक विकास निर्देशनालयका महानिर्देशक दिवाकर भण्डारीको अध्यक्षता तथा सामाजिक विकासमन्त्री घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

यसै अवसरमा सिद्धार्थनगर नगरपालिकाले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना अभिवृद्धि गर्दै प्रविधिको सुरक्षित र सही प्रयोग गर्ने, आफू र अरूलाई मानव बेचबिखनको जोखिमबाट जोगाउने तथा मानव बेचबिखनरहित समाज र राष्ट्र निर्माणका लागि एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: २०२६-०९-२५ , समय : ११:२७:०८ , १ घन्टा अगाडि