रुपन्देहीको भैरहवामा दशैं सस्तो बजार २०८२ सुरु

रुपन्देही खबर , १५१  पटक हेरिएको

भैरहवा, असोज ९

रुरुपन्देहीको सिद्धार्थनगर भैरहवामा बुधबार देखि दशैं सस्तो बजार’–२०८२ सुरु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा बुधबार एक कार्यक्रमका बिच नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्घाटन गर्नुभएको छ ।

बजारको उदघाटन गर्नु हुदै अध्यक्ष शर्माले नेपाली गुणस्तरीय उत्पादन सुपथ मूल्यमा पाइन्छ भन्ने सन्देश दिन यस्ता बजारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले सामान किन्न सीमापारी जाने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्ता बजारलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष शर्माले बजारले नेपाली उपभोक्तालाई स्वदेशी बजारमा सामान किन्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सिद्धार्थनगर नगरपालिका–१२ स्थित संघको भवन (परिसर) मा सञ्चालन गरिएको बजार असोज १२ बजेसम्म सञ्चालन गरिने संस्थाका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताउनुभयो । पाँचदिने बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाडा, जुत्ता–चप्पल, घरेलु उत्पादन लगायतका १४ वटा स्टल रहेको उहाँले बताउनुभयो । भैरहवा क्षेत्रका उपभोक्ता तथा अवलोकनकर्ताहरुको उल्लेखनीय उपस्थिति रहने अपेक्षा र ५० देखि ६० लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

आम उपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तु तथा सेवाहरु एकै थलोबाट उपलब्ध गराउने, स्वदेशी तथा स्थानीय उत्पादनको उपभोग प्रवद्र्धन गर्ने, उचित मूल्यबारे उपभोक्ता सचेतना बढाउने, उपभोक्तालाई सस्तो सामान उपलब्ध गराउनका लागि निःशुल्क स्टल उपलब्ध गराउने र दशैं, तिहार, छठपर्व लगायतका महान पर्वहरुमा स्थानीय बजारलाई सक्रिय बनाउने बजारको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
उहाँले उपभोक्ताको सहजता र सुरक्षाका लागि बजार क्षेत्रमा सिसिटिभी जडान, शुद्ध खानेपानी लगायतका सुविधा उपलब्ध गराइएको बताउनुभयो ।

अध्यक्ष आचार्यका अनुसार संघले भैरहवामा पहिलोपटक वि.सं. २०५८ सालमा दशैं र तिहार बजार, दोस्रोपटक २०५९ सालमा, तेस्रोपटक २०७९ सालमा र चौथोपटक २०८० सालमा दशैं बजार सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यो परम्परालाई निरन्तरता दिदै यस वर्ष पनि संघ परिसरमा बजार आयोजना गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २०२५-०९-२५ , समय : ०९:०४:२९ , ३ दिन अगाडि