निर्यात अनुदान प्रक्रिया स्थगनको निर्णय पुनर्विचार गर्न सिद्धार्थ उद्योग वाणिज्य संघको आग्रह

रुपन्देही खबर , १२३  पटक हेरिएको

भैरहवा,असोज २४

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले उद्योग विभागले जारी गरेको निर्यात अनुदान प्रक्रिया स्थगन सम्बन्धी निर्णय तत्काल पुनर्विचार गर्न माग गरेको छ।

संघका अध्यक्ष नेत्र प्रसाद आचार्यद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ– “उद्योग विभागले मिति २०८२ असोज २३ गते ‘आर्थिक वर्ष २०८१/८२ मा निर्यात गरिसकेका निर्यातकर्ताले बुझाएका अनुदान आवेदनहरू यस वर्ष प्रक्रिया नगर्ने’ भन्ने निर्णय सार्वजनिक गरेकोमा संघको गम्भीर ध्यानाकर्षण भएको छ।”

संघका अनुसार भूपरिवेष्ठित देश नेपालका निर्यातकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा तीव्र प्रतिस्पर्धा र विविध चुनौतीका बीच पनि निरन्तर उत्पादन निर्यात गर्दै राष्ट्रका लागि वैदेशिक मुद्रा आर्जनमा महत्वपूर्ण भूमिका खेलेका छन्। यस्तो अवस्थामा विभागको निर्णयले निर्यातमुखी उद्योगहरूको मनोबल कमजोर पार्ने, सरकारप्रति उद्योगी व्यवसायीहरूमा अविश्वास बढाउने र आर्थिक स्थायित्वमा नकारात्मक असर पार्ने संघले जनाएको छ।

संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले “निर्यात अनुदान स्थगनको निर्णयले औद्योगिक क्षेत्रको मनोबलमा ठूलो धक्का पुर्‍याएको बताउनु भएको छ । उहाले निर्यातकर्ताले असहज परिस्थितिमा पनि देशका लागि विदेशी मुद्रा आर्जनमा योगदान दिइरहेका बेला राज्यले प्रोत्साहनका सट्टा निराशा दिने नीतिगत कदम चाल्नु दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ ।

उहाका अनुसार सरकारले तत्काल विभागीय सूचना फिर्ता गरी गत आर्थिक वर्षका निर्यात अनुदान आवेदनहरू प्रक्रिया गर्ने व्यवस्था मिलाउनुपर्ने, र आगामी वर्षका लागि स्पष्ट र स्थायी नीति ल्याउनुपर्ने आवश्यकता छ।

संघले उद्योग विभागलाई उक्त निर्णय पुनर्विचार गरी आ.व. २०८१/८२ का निर्यातकर्ताहरूलाई स्वघोषणा सहित अनुसूची–३ अनुसारको ढाँचामा निवेदन बुझाउने म्याद थप गर्न माग गरेको छ।

त्यसैगरी, संघले मुलुकको हालको वित्तीय अवस्था र औद्योगिक क्षेत्रले भोगिरहेको असहज परिस्थिति प्रति चिन्ता व्यक्त गर्दै, गत आर्थिक वर्षको बक्यौता निर्यात अनुदान बराबरको बण्ड जारी गरी निर्यात क्षेत्रको संरक्षण र प्रवर्धनका लागि सरकारलाई आवश्यक पहल गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: २०२५-१०-१० , समय : २०:५९:२३ , ३ दिन अगाडि