रुपन्देही खबर , १०१ पटक हेरिएको

भैरहवा, असोज २८
भारतीय सीमा क्षेत्रमा पर्ने झण्डीबजार (फरेनिया) हाटबजारमा भोलिदेखि नेपाली नागरिकलाई प्रवेश रोक्ने तयारी भएको छ । नेपालतर्फका उद्योगी–व्यवसायी, प्रहरी प्रशासन र स्थानीय सरोकारवालाहरुले नेपालमा भन्दा बढी नेपाली नागरिक भारतीय बजारतर्फ आकर्षित हुन थालेको भन्दै यस्तो कदम चालिएको बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा मंगलबार भैरहवामा आयोजित “खुला सिमाना तथा शान्ति सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम”मा सहभागी बक्ताहरुले फरेनिया बजारमा हुने अनियन्त्रित आवागमन नियन्त्रण गर्न आग्रह गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी डा. टेकराज पाण्डेले सीमा क्षेत्रको सुरक्षालाई मजबुत पार्दै नागरिकलाई आफ्नै बजार र उत्पादनप्रति आकर्षित गर्न प्रशासन प्रतिवद्ध रहेको बताउनुभएको छ उहाले “सीमा पारीको बजारमा अनावश्यक भीडले व्यापारिक सन्तुलन मात्र होइन, सुरक्षा जोखिम पनि बढाउँने भएकोले यसको नियमन आवश्यक रहेको बताउनु भयो ।
यस्तै गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीप बहादुर क्षेत्रीले भैरहवा–सुनौली नाकाबाट भारतीय फरेनिया बजारतर्फ अत्यधिक भीड हुन थालेपछि सुरक्षा चुनौती बढेको बताउनु भएको छ । उहाँले “नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली, उद्योगी–व्यवसायी र स्थानीय प्रशासनको सहकार्यमा बुधबार दिउँसो १ बजेदेखि फरेनिया हाटबजारमा जाने सर्वसाधारणलाई रोक लगाइने बताउनु भयो ।”
यस्तै गरी सशस्त्र प्रहरी उपरीक्षक मेखराज जोशीले नेपाल–भारत खुला सिमानाको दुरुपयोग रोक्न सशस्त्र प्रहरी सतर्क रहेको बताउँदै हरेक बुधबार लाग्ने भारतीय हाटबजारमा हुने भीड नियमनका लागि सुरक्षा व्यवस्था कडा पारिने जानकारी दिनुभयो ।
यस्तै गरी भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख शिवलाल न्यौपानेले अनावश्यक सामानको निकासी–पुर्ती नियन्त्रण गर्न भन्सारले पनि आवश्यक सहकार्य गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको राजस्वमा असर पर्ने गतिविधि नियन्त्रण गर्न भन्सार प्रशासन सधैं तयार छ ।”
त्यसैगरी कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले स्थानीय बजारको संरक्षण, स्वदेशी उत्पादनको प्रवद्र्धन र शान्ति सुरक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले उद्योगी ब्यवसायी र ब्यापारीहरुको लक्ष्य प्रतिस्पर्धा नभइ स्वदेशी बजारलाई सुदृढ बनाउनु भएकोले भारतीय बजारमा हुने अनियन्त्रित किनमेल रोक्न प्रशासनको निर्णय स्वागतयोग्य भएको जोड दिनु भयो । उहाले भैरहवा–रुपन्देहीका व्यवसायीहरू लामो समयदेखि सीमा पारको हाटबजारबाट प्रभावित हुँदै आएको समेत बताउनुभयो ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश अग्रवालले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि स्थानीय बजारमा विश्वास जगाउनुपर्ने बताउनुभयो । उहाँले, “नेपाली उपभोक्ताले आफ्नै उत्पादनलाई प्राथमिकता दिन थाले भने भारतीय बजारमा निर्भरता घट्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रममा संघका निबर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, पूर्व अध्यक्ष एवम् सल्लाहकार कुल प्रसाद न्यौपाने र पूर्व अध्यक्ष एवम् सल्लाहकार महेन्द्र कुमार श्रेष्ठले पनि सीमा सुरक्षासँगै स्थानीय बजार सुदृढीकरणका उपायबारे सुझाव दिनु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायी, सुरक्षाकर्मी, भन्सार अधिकारी, स्थानीय निकायका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२५-१०-१४ , समय : २३:३०:०२ , ५ घन्टा अगाडि