वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकोमा एसाेसिएशनको आपत्ति

तत्काल फिर्ता लिन माग

रुपन्देही खबर , ५३  पटक हेरिएको

साङ्केतिक तस्वीर

काठमाण्डाै,मंसिर १२

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसाेसिएशनले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकाेमा आपत्ति जनाएको छ ।
एसाेसिएशनले आज विज्ञप्ति निकालेर अस्ति मङ्सिर १० देखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने कामदारका लागि एकैपटक ठूलो भार पर्ने गरी स्वास्थ्य शुल्क बढाएकोमा आपत्ति जनाएको हो ।

सरकारले यूएईको हकमा ४ हजार ५०० बाट दोब्बर बढाएर ९ हजार ५०० र अन्य देशको हकमा ६ हजार ५०० बाट ९ हजार ५०० रुपैयाँ पुर्‍याएको छ । शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको एसाेसिएशनका अध्यक्ष दीपक थापाले निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ । यस्तै खाडी तथा मलेशिया जाने कामदारका लागि १० हजार सेवा शुल्क तोकेको अवस्थामा स्वास्थ्य परीक्षण शुल्क नै ९ हजार ५०० रुपैयाँ लिनु गम्भीर आपत्तिको विषय भएको अध्यक्ष थापाले बताउनुभयो ।

रोजगारीका लागि विशेषगरी मलेशिया र खाडीका देश जाने नेपाली अतिविपन्न अवस्थामा रहेकाहरू हुने गरेको एसाेसिएशनले जनाएको छ । ती देशमा दैनिक १ हजार ५०० युवा रोजगारीका लागि जाने गरेका र सरकारको निर्णयले विपन्न श्रमिकमाथि आर्थिक भार थप्ने एसाेसिएशनको बुझाइ छ । गन्तव्य देशले नेपालमा गरिने स्वास्थ्य परीक्षणको विश्वास नगरी आफ्नो देशको मापदण्ड अनुसार स्वास्थ्य परीक्षण गराउने गरेको अवस्थामा नेपालमा परीक्षणका लागि शुल्क बढाउनु राम्रो नभएको एसाेसिएशनले जनाएको छ ।

एसाेसिएशनले विपन्न अवस्थामा रहेका कामदारमाथि आर्थिक भार हुने गरी गरिएको स्वास्थ्य परीक्षण शुल्क वृद्धि तत्काल फिर्ता लिन मागसमेत गरेको छ ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कामका लागि विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय गर्नुभएको थियो । स्वास्थ्य व्यवसायीहरूले अस्तिदेखि नै बढेको शुल्कमा स्वास्थ्य परीक्षण थालेका छन् ।

प्रकाशित मिति: २०२५-११-२८ , समय : १६:२३:५५ , ३ घन्टा अगाडि