युवा जनमतको तेस्रो अधिवेशनबाट ३१ सदस्यीय समिति गठन

रुपन्देही खबर , ८८  पटक हेरिएको

भैरहवा, भदौ २१

जनमत पार्टी रुपन्देही क्षेत्र नं. १ अन्तर्गत युवा जनमतको तेस्रो अधिवेशनबाट अशोक केवटको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरिएको छ । शनिबार आयोजित अधिवेशनबाट नयाँ समिति गठन गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझी प्रमुख अतिथि तथा जनमत पार्टीकी केन्द्रीय सदस्य निलु चौधरी, लुम्बिनी प्रदेश उपाध्यक्ष धिरज चौधरी र रुपन्देही जिल्ला अध्यक्ष शिवचरन केवटको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रायमाझीले पार्टी संगठनलाई थप सुदृढ बनाउन युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले युवाको ऊर्जा, क्षमता र नेतृत्वलाई संगठन तथा सामाजिक गतिविधिमा प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै गरी केन्द्रीय सदस्य निलु चौधरीले युवाहरूलाई पार्टीको नीति, विचार र संगठनसँग जोड्दै नेतृत्व विकासका अवसर प्रदान गर्नुपर्ने बताउनुभयो ।

यस्तै गरी प्रदेश उपाध्यक्ष धिरज चौधरी र जिल्ला अध्यक्ष शिवचरन केवटले नवगठित समितिले युवालाई संगठित गर्दै जनतासँगको सम्बन्ध विस्तारमा भूमिका खेल्नुपर्ने धारणा राख्नुभएको थियो ।

अधिवेशनमा युवा जनमतको आगामी गतिविधि, संगठन विस्तार तथा युवाको सहभागिताका विषयमा समेत छलफल गरिएको थियो। नवगठित समितिले क्षेत्र नं. १ मा युवालाई संगठित गर्दै पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता गरेको छ ।

अशोक केवटको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सरोज केवटले गर्नुभएको थियो। कार्यक्रममा जनमत पार्टीका नेता, कार्यकर्ता तथा युवा जनमतका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रमसम्बन्धी सूचना लुम्बिनी प्रदेश सदस्य विष्णु चौधरीले प्रवाह गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२६-०९-०६ , समय : २३:३७:०९ , १ घन्टा अगाडि