रुपन्देही खबर , १६५ पटक हेरिएको
भैरहवा, भदौ १९
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस) शिक्षण अस्पताल ले अन्तर्राष्ट्रियस्तरको गुणस्तर मापन प्रमाणपत्र एनएबीएच (NABH–National Accreditation Board for Hospitals & Healthcare Providers) मान्यता प्राप्त गरेको छ। उक्त मान्यताले अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा, बिरामी सुरक्षा तथा पूर्वाधारको गुणस्तरलाई विश्वस्तरमा प्रमाणित गरेको अस्पतालले जनाएको छ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस.का अनुसार एनएबीएच मान्यता प्राप्त गर्नु अस्पतालका लागि गौरवको विषय भए पनि यसले थप जिम्मेवारी र चुनौतीसमेत थपेको छ। उहाँले अस्पतालले भविष्यमा पनि यस मापदण्डलाई निरन्तर कायम राख्दै बिरामी सुरक्षालाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो।
उहाँका अनुसार उपचारका क्रममा कुनै पनि प्रकारको संक्रमण वा जोखिम हुन नदिन विशेष सतर्कता अपनाइनेछ। साथै अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकहरूलाई समयानुकूल तालिम र दक्षतामार्फत अझ सक्षम बनाइनेछ। औषधिको सही प्रयोग, बिरामीको अधिकारको संरक्षण तथा उपचार खर्चमा पारदर्शिता कायम गर्न अस्पताल प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो।
अस्पतालको आकस्मिक कक्ष, सघन उपचार कक्ष (आईसीयू) तथा शल्यक्रिया कक्षलगायतका पूर्वाधार विश्वस्तरीय मापदण्डअनुसार सञ्चालनमा रहेको र आवश्यकता अनुसार थप आधुनिकीकरण गरिने अस्पताल प्रशासनले जनाएको छ।
एनएबीएच मान्यताले भारत सरकारका पूर्व सैनिक, उनीहरूका आश्रित परिवार तथा केन्द्र सरकार मातहतका पूर्व कर्मचारीका लागि सञ्चालन हुँदै आएको ईसीएचएस (ECHS) सेवासमेत थप प्रभावकारी, सहज र व्यवस्थित बन्ने विश्वास अस्पतालले व्यक्त गरेको छ। अस्पतालले प्राप्त गरेको यो मान्यताले भैरहवा तथा लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवाको नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२६-०९-०४ , समय : १९:१७:३१ , २ दिन अगाडि