रुपन्देही खबर , ७८ पटक हेरिएको
भैरहवा,मंसिर २७
सम्मानित रुपन्देही जिल्ला अदालतको मिति २०७७ माघ २० गतेको फैसलाबमोजिम बहुविवाह मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएर लामो समयदेखि फरार रहेका दुई जना महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय छपिया, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउँपालिका–५, रेहरा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानीका लागि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
पक्राउ पर्नेमा जगदम्मा थारु र लक्ष्मी डेगोरिया भन्ने फुलकुमारी थारु रहेका छन्। अदालतको फैसलाअनुसार जगदम्मा थारुलाई १ वर्ष ६ महिना कैद र रु. ४०० जरिवाना तथा लक्ष्मी डेगोरिया भन्ने फुलकुमारी थारुलाई १ वर्ष ५ महिना ४ दिन कैद र रु. ४०० जरिवाना सजाय तोकिएको थियो।
चार वर्षअघिको फैसला हुँदाहुँदै पनि फरार रहँदै आएका प्रतिवादीहरू पक्राउ परेपछि कानुन कार्यान्वयनमा प्रहरीले चालेको कदमलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले फरार प्रतिवादी खोज तथा पक्राउ अभियानलाई थप तीव्र बनाइने जनाएको छ।
प्रकाशित मिति: २०२५-१२-१३ , समय : २०:४९:१४ , ३ घन्टा अगाडि