सि.बि.पब्लिक हाई स्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

रुपन्देही खबर , ५१  पटक हेरिएको

भैरहवा, मंसिर २९

विद्यार्थीहरूको ज्ञान, बौद्धिक क्षमता तथा प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले सि. बि.पब्लिक हाई स्कुलमा एकदिवसीय हाजिरी जवाफ (क्विज) प्रतियोगिता सम्पन्न भएको छ।

विद्यालयका सह प्रधानाध्यापक उजेली कुमारी सोनीको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक उदय कुमार मल्लिक प्रमुख आतिथ्यतामा हाजिरी जवाफ (क्विज) प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मल्लिकले यस्ता शैक्षिक गतिविधिले विद्यार्थीहरूलाई पाठ्यपुस्तकको सीमाभन्दा बाहिर गएर विविध विषयमा ज्ञान आर्जन गर्न प्रेरणा दिने बताउनुभएको छ । उहाँले विद्यालयले नियमित रूपमा यस्ता सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको पनि उल्लेख गर्नुभयो।

कार्यक्रमको प्रारम्भमा कार्यक्रम सञ्चालक तथा क्विज मास्टर रस्मीता थारुले प्रतियोगितासम्बन्धी नियम र प्रक्रियाबारे जानकारी गराउनुभएको थियो। प्रतियोगितामा विद्यालयका कक्षा ७, ८, ९ र १० का १६ जना विद्यार्थीको सहभागिता रहेको थियो।

प्रतियोगितामा रानीमहल, तिलौराकोट, लुम्बिनी र देवदह गरी चार हाउस सहभागी थिए। प्रत्येक हाउसबाट चार–चार जना विद्यार्थी सहभागी भई चार समूहबीच प्रतिस्पर्धा भएको थियो।

तीन चरणमा सम्पन्न प्रतियोगितामा पहिलो राउन्डमा लुम्बिनी हाउसले ४५, रानीमहलले ३५, तिलौराकोटले ३० र देवदहले २५ अङ्क प्राप्त गरे। दोस्रो राउन्डमा लुम्बिनीले ६५, रानीमहलले ४०, तिलौराकोटले ५५ र देवदहले १० अङ्क हासिल गरे भने तेस्रो राउन्डमा लुम्बिनीले ४०, रानीमहलले ४५, तिलौराकोटले ३० र देवदहले ३५ अङ्क प्राप्त गरेका छ्न ।

कडा प्रतिस्पर्धापछि लुम्बिनी हाउसले कुल १९० अङ्कसहित प्रथम स्थान हासिल गर्न सफल भएको छ । रानीमहल हाउस १५५ अङ्कसहित दोस्रो, तिलौराकोट हाउस १४५ अङ्कसहित तेस्रो र देवदह हाउस ११५ अङ्कसहित चौथो स्थान प्राप्त गरेका छ्न ।

विजेता लुम्बिनी हाउसका कप्तान केशव भण्डारीको नेतृत्वमा भुवन श्रेष्ठ, इशान आलम र समृद्धि मल्लिक सहभागी थिए। रानीमहल हाउसका कप्तान सिखा यादवको नेतृत्वमा खुशी गुरुङ, निकिता मल्ला र सत्यम श्रेष्ठ थिए। तिलौराकोट हाउसका कप्तान बन्दना गौतमको नेतृत्वमा अच्युत न्यौपाने, गगन यादव र तृषला कर्ण तथा देवदह हाउसका कप्तान यमुना घिमिरेको नेतृत्वमा सौभाग्य सुनार, प्रिन्स कल्वर र अनुभव अधिकारी लगायतको सहभागीता थियो ।

कार्यक्रममा निर्णायक मण्डलका रूपमा शिक्षकहरू कमला नेपाल, रीता जैशी र निर्मला लोहनी रहनुभएको थियो। बोर्ड स्कोररका रूपमा निष्कर्ष शर्मा, मुख्य स्कोरर सना खान, समय सूचक कृशंग थापा, समाचार लेखनमा विजय गुप्ता तथा माइक होल्डरका रूपमा रिया गुप्ताको भूमिका रहेको थियो।

विजेता टोली लुम्बिनी हाउसलाई प्रमुख अतिथि तथा प्रधानाध्यापक उदय कुमार मल्लिकद्वारा पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष उजेली कुमारी सोनीले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभएको छ ।

प्रकाशित मिति: २०२५-१२-१५ , समय : ०९:२२:०५ , २ घन्टा अगाडि