उर्मिला यादव यात्री , ९३ पटक हेरिएको
भैरहवा, मंसिर २९
श्री पिपरहवा माध्यमिक विद्यालय, पिपरहवा–५, रोहिणी गाउँपालिका, रूपन्देहीमा निर्माण गरिएको चार कोठे विद्यालय भवन तथा सरस्वती मन्दिरको उद्घाटन सोमबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष बैजनाथ अग्रहरीको अध्यक्षता तथा रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नवनिर्मित भवन र सरस्वती मन्दिरको संयुक्त रूपमा उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष यादवले “शिक्षा नै समृद्ध समाज निर्माणको मेरुदण्ड भएको बताउदै भौतिक पूर्वाधार सुदृढ नहुँदासम्म गुणस्तरीय शिक्षाको परिकल्पना गर्न नसकिने बताउनु भएको छ । उहाले रोहिणी गाउँपालिकाले विद्यालयको भौतिक संरचना, शैक्षिक वातावरण र शिक्षक–विद्यार्थीमैत्री पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनु भएको छ ।

उहाले सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि गाउँपालिकाले क्रमशः कक्षाकोठा निर्माण, शैक्षिक सामग्री व्यवस्थापन, छात्रवृत्ति तथा अतिरिक्त प्रोत्साहन कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै नयाँ भवन र सरस्वती मन्दिरले विद्यालयको शैक्षिक वातावरण थप सकारात्मक, अनुशासित र सिर्जनशील बन्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाले रोहिणीको बिकासमा गाउपालिका प्रतिबद्ध भएर काम गर्दै आएको उल्लेख गर्दै वडा नम्बर ५ मा रहेका गरिब तथा बिपन्न समुदायका ५ सय ५० घरधुरीलाई छिटटै नै पुर्जा बितरण गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुबारक अलिले विद्यालयको वर्तमान अवस्था, शैक्षिक उपलब्धि तथा भावी योजनाबारे जानकारी गराउँदै स्थानीय सरकारको सहयोगले विद्यालय विकासमा उल्लेखनीय प्रगति भएको बताउनु भएको छ । उहाले बिद्यालय सम्पुर्ण समुदायको रहेको बताउदै यसलाई अगाडी बढाउन सबैको साथ र सहयोगको उत्तिकै आवश्यकता रहेको जोड दिनु भयो । प्रधानाध्यापक अलिले आफु बिद्यालयमा आए देखि नै बिद्यालयको भौतिक अवस्था मात्र नभइ शैक्षिक अवस्थामा समेत सुधार आएको बताउनु भयो ।

रोहिणी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष घनश्याम सिंह क्षेत्रीले स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकबीचको सहकार्यले मात्र शिक्षाको गुणस्तरमा सुधार ल्याउन सकिने बताउनु भएको छ । उहाले बिद्यालय र बिद्यार्थीहरुको बिकासमा वडा नम्बर ५ सधै सकरात्मक रही बजेट समेत बिनियोजन गर्दै आएकोले आगामी दिनमा पनि वडा र गाउपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष बैजनाथ अग्रहरीले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा स्थानीय सरकार, अभिभावक र विद्यालय परिवारको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्दै नवनिर्मित चार कोठे भवन र सरस्वती मन्दिरले विद्यार्थीलाई सुरक्षित, शान्त र अध्ययनमैत्री वातावरण प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाले विद्यालयको गुणस्तर सुधारका लागि व्यवस्थापन समिति निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

त्यसैगरी रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख सुनिता न्यौपानेले स्थानीय तहको शिक्षा नीति सामुदायिक विद्यालयको सबलीकरणतर्फ केन्द्रित रहेको बताउँदै आधारभूतदेखि माध्यमिक तहसम्मको शिक्षामा गुणस्तर अभिवृद्धि, शिक्षक क्षमता विकास र विद्यार्थीमैत्री सिकाइ वातावरण निर्माणमा गाउँपालिका निरन्तर लागिरहेको स्पष्ट पार्नु भएको छ । उहाले विद्यालय–समुदाय–स्थानीय सरकारबीचको सहकार्यले मात्र अपेक्षित शैक्षिक सुधार सम्भव हुने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा २०८२ सालको त्रैमासिक परीक्षामा कक्षा ५ देखि कक्षा १२ सम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई झोला वितरण गर्दै सम्मान गरिएको थियो । सम्मान कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रतिस्पर्धात्मक भावना विकास भएको सहभागीहरूको भनाइ रहेको छ ।

विद्यालयका शिक्षक गंगाराम यादवको स्वागत मन्तव्य रहेको कार्यक्रममा चन्दादाता राजु अग्रहरी, अकलेश अग्रहरी, बिद्यालयको सहायक प्रधानाध्यापक अशोक कुमार चौधरी, शिक्षक अभिभावक संघका मिटटुर पासी, बिद्यालयका प्रमुख सल्लाहकार केशवराज प्रसाद केवट लगायत विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा बिद्यालयको भौतिक तथा सामाजिक बिकासमा आर्थिक रुपमा सहयोग गर्ने चन्दादाताहरुलाई समेत कदर पत्रले सम्मान गरिएको थियो ।


प्रकाशित मिति: २०२५-१२-१५ , समय : २२:३०:४२ , ५ घन्टा अगाडि