रुपन्देही खबर , ८३ पटक हेरिएको
भैरहवा, पुस ३
श्रीराम जानकी हनुमान मन्दिर सेवा समितिका सिद्धार्थनगर ४ रुपन्देहीले सोमबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । श्रीराम जानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारको अध्यक्षता तथा सिनपा वडा नम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ यादव भोलाको प्रमुख आतिथ्यतामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
श्रीराम जानकी हनुमान मन्दिरको प्राङ्गणमा प्रत्येक महिनाको पहिलो मंगलबार सञ्चालन हुँदै आएको मासिक निःशुल्क स्वास्थ्य शिविर मा २ सय जना भन्दा बढीले सेवा लिएका छन ।
शिविरमा निःशुल्क विशेषज्ञ डाक्टर परामर्श अन्तर्गत सामान्य चिकित्सा, हाडजोर्नी तथा नशा रोग, बालरोग, प्रसुति तथा स्त्रीरोग, सर्जरी, छाला रोग, आँखा परीक्षण तथा उपचार, नाक–कान–घाँटीसम्बन्धी सेवा प्रदान गरिएको थियो। साथै, भिडियो एक्स–रे तथा साधारण एक्स–रे सेवामा ५० प्रतिशत छुट, विभिन्न ल्याब परीक्षण, ईसीजी (रु. १०० मात्र) र निःशुल्क सुगर जाँचको सुविधा उपलब्ध गराइएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडाध्यक्ष मुक्तिनाथ यादव भोलाले धार्मिक संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताउनु भएको छ ।
उहाले भन्नु भयो “मन्दिर केवल पूजा–आराधनाको स्थान मात्र होइन, समाजसेवाको प्रभावकारी केन्द्र पनि बन्न सक्छ भन्ने उदाहरण श्रीराम जानकी हनुमान मन्दिर सेवा समितिले प्रस्तुत गरेको छ । उहाले आर्थिक रूपमा कमजोर तथा सामान्य नागरिकले घरआँगनमै विशेषज्ञ स्वास्थ्य सेवा पाउनु ठूलो उपलब्धि भएको जोड दिनु भयो ।
वडाध्यक्ष यादवले यस्ता निःशुल्क स्वास्थ्य शिविरले नागरिकको समय र खर्च दुवै बचत गर्नुका साथै रोगको प्रारम्भिक पहिचानमा सहयोग पु¥याउने उल्लेख गर्दै वडा कार्यालयबाट आगामी दिनमा पनि आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
यस्तै गरी मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले मन्दिरलाई केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई सामाजिक सेवाको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले मासिक स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनु भएको छ । उहाले “स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा पु¥याउनु हाम्रो मुख्य लक्ष्य भएको बताउदै “स्थानीय बासिन्दाले घरदैलोमै विशेषज्ञ सेवा पाउन थालेको बताउदै यसले सकारात्मक प्रभाव पारेको उल्लेख गर्नु भयो ।
यस्तै गरी कार्यक्रम संयोजक डा. बैजनाथ अग्रहरीले आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई लक्षित गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनु भएको छ । “सामान्य रोगदेखि विशेषज्ञ उपचारसम्मको परामर्श एकै ठाउँमा उपलब्ध गराउँदा नागरिकलाई समय र खर्च दुवैको बचत भएको उहाले जोड दिनु भयो ।

यस्तै गरी कार्यक्रमका सह–संयोजक तालकेश्वर कान्दुले स्थानीय संघ–संस्था र स्वास्थ्य संस्थाको सहकार्यले शिविरलाई निरन्तरता दिन सहज भएको बताउनु भएको छ । “सहयोगी संस्थाहरूको सक्रिय सहभागिताले स्वास्थ्य शिविरलाई नियमित र प्रभावकारी बनाउन सम्भव भएका उल्लेख गर्नु भयो ।
शिविर सफल बनाउन भीम अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, रेडक्रस सोसाइटी भैरहवा शाखा, नेशनल प्याथालोजी ल्याब, शरदा अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक सेन्टर, न्यू बुद्ध एक्स–रे सेवा र लारी मेडिसिन सेन्टरले प्राविधिक सहयोग प्रदान गरेका थिए ।
त्यस्तै, सिद्धार्थनगर नगरपालिका–४ वडा कार्यालय, राष्ट्रिय वैश्य महासंघ नेपाल, रूपन्देही, फुलवारी सेवा समाज, बुद्ध सामुदायिक समाज, सामुदायिक प्रहरी केन्द्र (वडा नं. ४, ६, १० र ११), एयरपोर्ट आमा समाज तथा नेपाल वैश्य युवा संघ, रूपन्देही लगायत संस्थाहरूको सहयोग रहेको थियो। आयोजक समितिले आगामी दिनमा पनि प्रत्येक महिनाको पहिलो मंगलबार यस प्रकारका स्वास्थ्य शिविरलाई निरन्तरता दिइने जनाएको छ ।
कार्यक्रम संयोजक डा. बैजनाथ अग्रहरीको स्वागत मन्तब्य रहेको कार्यक्रममा भिम अस्पताल भैरहवाको मेडिकल सुपरीटेण्डेन्ट बर्षा थापा, श्रीराम जानकी हनुमान मन्दिर सेवा समितिका कोषाध्यक्ष महेश प्रसाद जैसवाल, सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाको पुर्व अध्यक्ष कुल प्रसाद न्यौपाने, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका अध्यक्ष रामचन्द्र उपाध्याय, कान्दु बैश्य सेवा समिती रुपन्देहीका निबर्तमान अध्यक्ष श्रीराम गुप्ता लगायतले बोेल्नु भएको थियो ।
श्रीराम जानकी हनुमान मन्दिर सेवा समितिको आयोजनामा सम्पन्न शिविरमा तालकेश्वर कान्दु सह–संयोजक तथा डा. बैजनाथ अग्रहरी कार्यक्रम संयोजक रहनु भएको थियो। शिविर समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२५-१२-१८ , समय : २१:२१:३८ , ३ घन्टा अगाडि