श्री दर्शन बहुउदेश्यीक सहकारीको २९औँ वार्षिक साधारण सभा सम्पन्न

रुपन्देही खबर , ७८  पटक हेरिएको

भैरहवा, पुस ६

श्री दर्शन बहुउदेश्यीक सहकारी संस्था लिमिटेड, सिद्धार्थनगर–१२, रुपन्देहीको २९ औँ वार्षिक साधारण सभा शनिबार भैरहवामा एक कार्यक्रमका बीच सम्पन्न भएको छ।संस्थाका अध्यक्ष सिताराम उप्रेतीको अध्यक्षता तथा सहकारी विज्ञ चन्द्रकान्त भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि चन्द्रकान्त भट्टराईले सहकारी संस्था सदस्यहरूको आर्थिक सशक्तिकरणको महत्वपूर्ण माध्यम भएको बताउनु भएकको छ । उहाँले सहकारीले पारदर्शिता, सुशासन र अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढेमा दीगो विकास सम्भव हुने धारणा राख्नुभएको थियो । उत्पादनशील क्षेत्रमा लगानी बढाउन सके सहकारीले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन सक्ने उहाँको भनाइ थियो ।

यस्तै गरी कार्यक्रमका अध्यक्ष सिताराम उप्रेतीले संस्थाले स्थापना कालदेखि नै सदस्यको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको बताउनुभएको छ । उहाँले सदस्यहरूको विश्वासकै कारण संस्था आज २९औँ वार्षिक साधारण सभासम्म आइपुगेको उल्लेख गर्दै आगामी दिनमा अझ सुरक्षित, प्रभावकारी र सदस्यमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संस्थाका कानुनी सल्लाहकार लोकनाथ पन्थले स्वागत मन्तव्य दिँदै सहकारीलाई कानुनी दायराभित्र राख्दै अघि बढाउनु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ । उहाँले नियम, कानुन र आन्तरिक अनुशासनले सहकारीलाई दीर्घकालीन बनाउनेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा समाजसेवी विकास रायमाझीले सहकारी संस्थाले आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्ने बताउनुभएको छ । उहाले सहकारीले स्थानीय समुदायको विकासमा खेलेको भूमिकाको प्रशंसा समेत गर्नु भएको थियो ।

संस्थाको लेखा समितिका सदस्य लोकनाथ ज्ञवालीले लेखा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक कारोबार पारदर्शी, नियमित र नियमानुसार रहेको जानकारी गराउनुभएको थियो ।

त्यसैगरी कर्जा समिति संयोजक चुरामणी पन्थले संस्थाको कर्जा तथा लगानी प्रक्रियाबारे जानकारी गराउँदै आर्थिक वर्ष २०८१÷८२ को प्रगति विवरण र २०८२÷८३ का प्रस्तावित कार्यक्रमहरूबारे साधारण सभालाई अवगत गराउनुभएको थियो । उहाँले सुरक्षित लगानी र समयमै कर्जा असुलीमा संस्था सचेत रहेको समेत बताउनुभएको छ । भने संस्थाका लेखा समिती संयोजक बिष्णु न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा सहकारीका सञ्चालक समिति सदस्यहरू, लेखा समिति तथा कर्जा समिति सदस्यहरू, संस्थाका शेयर सदस्यहरू, कर्मचारीहरू, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२५-१२-२१ , समय : १०:३१:०० , २ घन्टा अगाडि