रुपन्देही खबर , ६६ पटक हेरिएको
भैरहवा,पुस १४
रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाअन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण विद्यालयमा तीन दिनका लागि जाडो बिदा दिइएको छ।
गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवका अनुसार पुस १४ गतेदेखि १६ गतेसम्म वार्षिक बिदाबाट मिलान हुने गरी विद्यालयहरूमा जाडो बिदा दिइएको हो। पछिल्लो केही दिनयता क्षेत्रमा बाक्लो हुस्सुसहितको शीतलहर जारी रहेकाले नियमित पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको र यसले विद्यार्थीहरूको स्वास्थ्यमा असर पार्न सक्ने अवस्थालाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो।
शीतलहरका कारण विशेषगरी साना कक्षाका बालबालिका बढी प्रभावित हुने सम्भावना रहेकाले सावधानीस्वरूप बिदा दिइएको गाउँपालिकाले जनाएको छ। मौसम सामान्य भएपछि विद्यालय सञ्चालन पुनः नियमित गरिने पनि पालिकाले जनाएको छ।
प्रकाशित मिति: २०२५-१२-२९ , समय : ०६:४४:०८ , २ घन्टा अगाडि