उर्मिला यादव यात्री , २४४ पटक हेरिएको
भैरहवा, पुस २३
श्री बसन्तपुर दशरथ जनता माध्यमिक विद्यालय ओमसतिया–४, परसौनी, रुपन्देहीमा निर्माण सम्पन्न भएका दुईवटा चार–कोठे र एउटा आठ–कोठे गरी १६ कोठे विद्यालय भवनको समुद्घाटन गरिएको छ । नयाँ भवनको समुद्घाटनसँगै विद्यालयको शैक्षिक वातावरण थप सहज, व्यवस्थित र प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहित कुमार यादवको अध्यक्षता तथा ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवको प्रमुख आतिथ्यतामा मंगलबार एक कार्यक्रमका बिच १६ कोठे भवनको समुद्घाटन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि यादवले सामुदायिक विद्यालयलाई सबल र सक्षम बनाउनु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउनु भएको छ । उहाँले “विद्यालयमा भौतिक पूर्वाधारको विकास हुनु भनेको केवल भवन थपिनु मात्र नभइ यसले विद्यार्थीको सिकाइ वातावरण, आत्मविश्वास र शैक्षिक उपलब्धिमा समेत प्रत्यक्ष प्रभाव पार्ने बताउनु भयो। उहाँले ओमसतिया गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै क्रमशः सबै विद्यालयमा आवश्यक पूर्वाधार र शैक्षिक सुधारका कार्यक्रम अघि बढाइरहेको समेत जोड दिनु भयो ।

गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बालबालिकाको भविष्य निर्माणमा शिक्षा निर्णायक तत्व भएको बताउँदै शिक्षा, अनुशासन र सुरक्षित विद्यालय वातावरणमा विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ । उहाले ओमसतियाले शिक्षा क्षेत्रमा धेरै उपलब्धि हासिल गरेको बताउदै यस बसन्तपुर दशरथ जनता माविलाई अझै अगाडी बढाउन गाउपालिका सकरात्मक रहेको जोड दिनु भयो ।

ओमसतिया गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरि पोख्रेलले स्थानीय सरकारले शिक्षा क्षेत्रलाई दीर्घकालीन लगानीको रूपमा लिएको बताउँदै विद्यालयको भौतिक, शैक्षिक र प्रशासनिक सुधारमा निरन्तर सहयोग रहने प्रतिबद्धता समेत गर्नु भएको छ ।

गाउँपालिका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष मदन प्रसाद पोख्रेलले विद्यालयलाई भविष्यमा नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै शिक्षा क्षेत्रमा गरिएको लगानी कहिल्यै खेर नजाने जोड दिनु भएको थियो ।

ओमसतिया–६ का वडाध्यक्ष शिव कुमार धवलले सामुदायिक विद्यालयलाई मजबुत बनाउन सबै जनप्रतिनिधि एकजुट हुनुपर्ने बताउँदै शिक्षा विकास नै स्थानीय विकासको मेरुदण्ड भएको बताउनु भएको छ ।

ओमसतिया–४ का वडाध्यक्ष अखिलेश्वर कुमार पाण्डेले विद्यालयको विकास भनेको समाजको विकास भएकोले आफना बालबालिकाहरुलाई शिक्षा संगै अगाडी बढाउन आग्रह गर्नु भएको छ । उहाले जनप्रतिनिधिहरू विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि सधैं साथ र सहयोग गर्न प्रतिबद्ध रहेको बताउदै आफना बालबालिका प्रति अभिभावकलाई सचेत हुन आग्रह गर्नू भएको छ ।
यस्तै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहित कुमार यादवले विद्यालयको विकास यात्राबारे चर्चा गर्दै समुदायको योगदान बिना आजको उपलब्धि सम्भव नहुने बताउनुभएको छ । उहाँले १६ कोठे विद्यालय भवन विद्यालयको मात्र नभइ समग्र समाजको सम्पत्ति भएकोले हामीले भौतिक संरचनासँगै शैक्षिक गुणस्तर, अनुशासन र नैतिक शिक्षामा पनि ध्यान दिनुपर्ने बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सफात अलिले नयाँ भवन निर्माणले विद्यार्थी संख्या वृद्धि, कक्षा व्यवस्थापन र अतिरिक्त शैक्षिक गतिविधिमा सहयोग पुग्ने बताउनुभएको छ । उहाँले पालिका, विद्यालय व्यवस्थापन समिति र सहयोगी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
यस्तै गरी पटखौली माध्यमिक विद्यालयका प्रधानाध्यापक शेर बहादुर सुनारले सामुदायिक विद्यालयको उन्नयनका लागि यस्ता पूर्वाधार विस्तार अत्यावश्यक भएको बताउनुभएको छ । उहाले भवन बलियो भए मात्रै शैक्षिक गतिविधि पनि बलियो हुने जोड दिदै यसले विद्यार्थीको टिकाइ र अभिभावकको समेत विश्वास बढाउँने उल्लेख गर्नु भयो ।
यस्तै गरी विद्यालयका पूर्व प्रधानाध्यापक राज महेन्द्र रायले विद्यालयले विगतमा भोग्नुपरेका चुनौतीहरूको स्मरण गर्दै आजको उपलब्धि गर्वको विषय भएको बताउनुभएको छ । उहाँले सीमित साधनस्रोतका बीच पनि विद्यालयलाई जोगाएर यहाँसम्म ल्याउनु सबैको साझा प्रयास भएको उल्लेख गर्नु भएको थियो ।
यस्तै गरी विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य राम शंकर यादवले विद्यालयको विकासमा समुदाय, अभिभावक र जनप्रतिनिधिको निरन्तर सहयोग आवश्यक रहेको बताउँदै सामुदायिक विद्यालयप्रतिको विश्वास अझ बलियो बनाउन आग्रह गर्नुभएको थियो ।
शिक्षिका गीता गौतमले शिक्षकको भूमिकामाथि जोड दिँदै भौतिक संरचनासँगै सिकाइ विधि, अनुशासन र विद्यार्थी–केन्द्रित शिक्षण प्रणाली आवश्यक रहेको बताउनुभएको छ । उहाँले नयाँ भवनले सिर्जनशील शिक्षण वातावरण निर्माणमा सहयोग पुग्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षिका प्रीती पाण्डेले विद्यालयको विगतदेखि वर्तमानसम्मको अवस्थाबारे प्रकाश पार्दै नयाँ भवन निर्माणले शिक्षक र विद्यार्थी दुवैलाई सहजता प्रदान गर्ने बताउनुभएको छ । उहाले सीमित कोठा र असहज अवस्थाबीच पठन–पाठन गर्दै आएको विद्यालय आज व्यवस्थित संरचना पाउँदा सबै उत्साहित भएको बताउनु भएको छ ।

यस्तै गरी विद्यार्थीको तर्फबाट मन्तव्य राख्दै दुर्गा मिश्राले नयाँ भवनले विद्यार्थीको मनोबल बढाएको बताउनु भएको छ । उहाले सफा, फराकिला र सुरक्षित कक्षा कोठामा पढ्न पाउँदा हामी अझ मन लगाएर अध्ययन गर्नेमा जोड दिदै विद्यालयको नाम उज्यालो बनाउनेमा प्रयास गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

कार्यक्रमकै अवसरमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका जेहेन्दार तथा अनुशासित विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । भने कार्यक्रममा शिक्षक , बिद्यार्थी लगायतले सांस्कृतिक कार्यक्रम मार्फत आफनो कला प्रस्तुत गरेका थिए । भने कक्षा १० मा अध्ययनरत गरिब तथा जेहेन्दार २ जना बिद्यार्थीलाई साइकल समेत प्रदान गरिएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाविद्, सरोकारवाला ब्यक्तित्व, समाजसेवी, अभिभावक, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२६-०१-०७ , समय : १४:०६:५९ , १ दिन अगाडि