रुपन्देही खबर , ११३ पटक हेरिएको
भैरहवा, माघ ६
रुपन्देहीमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उत्साहपूर्ण र शान्तिपूर्ण वातावरणमा मनोनयन दर्ता सम्पन्न भएको छ । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा कुल एक सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पाँचवटै निर्वाचन क्षेत्रमा कुनै अवाञ्छित गतिविधि नभई शान्तिपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको आयोगकी प्रमुख कल्पना अर्यालले जानकारी दिनुभयो ।
निर्वाचन क्षेत्र नं. १ मा ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये २० जना दलका तर्फबाट र ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । निर्वाचन अधिकृत कपिल पौडेलका अनुसार यस क्षेत्रमा एक जना मात्र महिला उम्मेदवारको उम्मेदवारी परेको छ ।
सबैभन्दा धेरै उम्मेदवारी भने निर्वाचन क्षेत्र नं. २ मा परेको छ । यस क्षेत्रमा ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार २१ जना दलका तर्फबाट र २० जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
यस्तै निर्वाचन क्षेत्र नं. ३ मा ३६ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार १९ जना दलका उम्मेदवार र १७ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस क्षेत्रमा २ जना महिलाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नं. ४ मा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृत टोपबहादुर बिष्टका अनुसार १५ जना दलका तर्फबाट र ७ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस क्षेत्रमा ३ जना महिला उम्मेदवार छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. ५ मा २७ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीका अनुसार १९ जना दलका उम्मेदवार र ८ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवारमध्ये ३ जना महिला रहेका छन् । मनोनयन दर्ता सम्पन्न भएसँगै रुपन्देहीमा चुनावी माहोल थप तातेको छ भने उम्मेदवारहरू अब चुनावी प्रचार–प्रसारमा सक्रिय हुने देखिएका छन् ।
प्रकाशित मिति: २०२६-०१-२० , समय : २०:५८:३६ , २ घन्टा अगाडि